Digital Newspaper

एकताको प्रयासकी भागबन्डाको?

-सुरज भण्डारी

नेपालमा अहिले दुई खालको शक्ति देखिएको छ । एउटा आफुलाई लोकतान्त्रिक भन्ने शक्ति र अर्को आफुलाई वामपन्थी भन्ने शक्ति भर्खर सम्पन्न चुनाववाट नेपालको संसदीय प्रणालीमा उभिएका दुइ शक्ति हो । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक शक्ति र एमाले माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धन शक्ति चुनावी प्रतिष्पर्धामा थिए । हुनतः गठवन्धन निर्माण आवश्यकता मात्र थिएन अवलम्वन गरिएको निर्वाचन प्रणालीका कारण सिर्जित बाध्यता पनि थियो ।

तर पनि मिलेर जाने अभ्यास अनि यस निर्वाचन प्रणालीवाट अवलम्वन गरिएको थ्रेसहोल्डले मुलतः व्यक्ति पिच्छेका दल र समानुपातिकका नाममा लाभ लिन खोज्नेहरुको बाटो भने छेकिदिएको छ । थ्रेस होल्ड आफैमा सही हो या होइन यसको बेग्लै बहस हुन सक्छ तर अहिले जुन हिसाबले निर्वाचनमा दलहरु मिलेर गए यसले भने केही सकारात्मक सुरुवात गरेको मान्न सकिन्छ । मधेशमा मधेशकेन्द्रीत दलका बीचमा भएको गठबन्धनले प्रदेश २ मा उनीहरुलाई उपलब्धी दिएको छ भने प्रतिनिधि सभामा समेत राम्रो उपस्थिति गराएको छ ।

यस पटकको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठवन्धनले बाजी मारेको छ । समग्रमा नेकपा एमाले पहिलो शक्ति बनिरहदा ६ वटै प्रदेशमा वाम गठवन्धनको सम्मानजनक वहुमत आएको अवस्था छ । केन्द्र सरकार बनाउन पनि जनताले स्पष्ट वहुमत दिएका छन् । तर पनि सरकार निर्माणको सन्दर्भमा धेरै तिक्डमहरु भैरहेको देखिन्छ, यो पनि अर्को छलफलको पाटो हुन सक्दछ । यसपटक जनताले स्थिर सरकारको पक्षमा आफुलाई उभ्याएका छन् । जनमतको सम्मान गर्ने संस्कार रह्यो भने यसपटक वाम गठवन्धनको सरकारले सरकार बनाउने मत पाएको छ ।

यसको पछाडिका धेरै कारणहरु मध्ये एउटा कारण स्थानीय तहवाटैं कार्यकर्ता अनि केही हदसम्म जनताले एमाले माओवादी केन्द्र विचको पार्टी एकताको सन्दर्भलाई पनि अप्रत्यक्ष रुपमा सकारात्मक लिएको मान्न सकिन्छ । चुनाव र पार्टी एकिकरण विच प्रत्यक्ष साइनो नै लगाउनुपर्ने कुनै कारण नभएपनि दुइ पार्टी मिल्दा गर्न सकिन्छ भन्ने दुई पार्टीका कार्यकर्तामा यसले मनोबल बढाइदिएको छ । र अहिले एकताको वहस पनि नभएको होइन ।

एकतालाई लिएर भिन्न भिन्नै कोणवाट वहसहरु भैरहेको छ । दुवै दलका नेताहरु खासगरी दोस्रो र तेस्रो तहका नेताहरु यो वहसमा बढी सक्रिय देखिन्छन् । त्यसो त दुवै दलको शिर्ष नेतृत्व तह पनि एकता प्रति सकारात्मक देखिएको छ । तर एकताको निम्ति वैचारिक आधार प्रमुख हुनुपर्ने भएपनि त्यसो नभई अहिले नेताको समायोजन र विभिन्न पदको भागवण्डालाई वहसको केन्द्रमा दुवै दलका नेताहरुले राखेको देखिन्छ । नेकपा एमालेले अवलम्वन गरिरहेको जनताको वहुदलीय जनवादलाई अहिले सम्म माओवादी केन्द्रले संसोधनवादी धार भनिरहेको छ भने जसको जगमा टेकेर यहा सम्म आएको माओवादी केन्द्रको आधार उसको भाषामा जनयुद्धलाई नेकपा एमालेले समयको आवश्यकता हो भनेर मानेको अवस्था समेत छैन । यी दुइका विचमा एक प्रकारको खाडल छ यो भन्दा पनि अन्य धेरै समस्या वैचारिक रुपमा रहेको छ ।

यस विच नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले एकताको नया आधारको रुपमा नया वहसको प्रारम्भ गरिदिएका छन् । जनयुद्ध र जनताको वहुदलीय जनवादको अध्याय अव सकिएको र नया शिरावाट वैचारिक आधार तय हुनुपर्ने उनको अभिव्यक्तिले भने दुइ पार्टीमा मात्र होइन उनकै पार्टी एमालेमा पनि तरंग ल्याइदिएको छ । हुनत उनले यसअघि देखिनै जनताको बहुदलीय जनवाद मार्फत प्राप्त गर्न सकिने सबै कुरा प्राप्त गरिसकेको बताउदैं आएका छन् । भुषालले वैचारिक वहसको एउटा आधार बाहिर ल्याइरहदा उनी निकट मानिने एमालेकै सचिव योगेश भट्टराइले भने दुवै दलको अहिलेको नेतृत्व एकतापछि बाहिर रहेर नयालाई जिम्मेवारी दिनुपर्ने तर्क गर्दै एकता पछिको नेतृत्व व्यवस्थापनको पाटोमा आफ्नो अभिमत दिएका छन् ।

उसो त एमालेको जवज नस्विकार्ने बरु जनयुद्धलाई एमालेले मान्नुपर्ने, नेतृत्वमा पुष्पकमल दाहाल जानुपर्ने जस्ता तर्क राख्दैं माओवादी केन्द्रका नेता गोपाल किराती एकता गर्ने निर्णय सही नभएको सम्म भनेर पार्टीवाट अलग हुने सम्म भनिरहेका छन् । अर्का नेता देवेन्द्र पौडेलले पुष्पकमल दाहालको आवश्यकता रहेको भन्दै नेतृत्व उनले गर्नुपर्ने नत्र एकता त्यति सजिलो नभएको बताउदैं आएका छन् । यी केही पात्रहरु मात्र होइन दुवै दलका धेरै नेताहरुले आ आफ्ना अभिव्यक्ति दिइरहेका छन् । तर अधिकांशको धारणा नेताहरुको व्यवस्थापन र पदीय भागवण्डामै केन्द्रीत भएको देखिन्छ । पार्टी एकिकरण र नेताहरुको व्यवस्थापन दुइ दलको आन्तरिक विषय हो तर यो लेखमा खासगरी दलहरु किन मिल्ने, के का लागि मिल्ने, पार्टी एकता कि पदीय भागवण्डा भन्ने विषयको उठान गर्न खोजिएको हो ।

अहिले एमाले र माओवादी केन्द्र एक हुदा त्यसको नेतृत्व कसले पाउने, राष्ट्रपति को बन्ने, उपराष्ट्रपति को बन्ने, प्रधानमन्त्री को बन्ने, सभामुख को बन्ने, उपसभामुख को बन्ने, मुख्य मन्त्री कसरी बाड्ने यही विषयमा दुइ दलको ध्यान बढी खिचिएको देखिन्छ । के यसरी पदिय भागवण्डा गरेर हुने एकता दिगो हुन सक्ला? अहिले देखिनै एक प्रकारले साठी चालिसको मापदण्ड अपनाउन थाले यी दुइ दलको विचमा हुने एकता कति टिक्ला यो महत्वपुर्ण कुरा हो ।मुलतः देशमा धेरै दल भएर देश विकास हुने होइन, प्रजातान्त्रिक अभ्यास वा भनौं जनताले आफ्नो अधिकार पाउने होइनन्, राम्रा केही दल मात्रै हुदा पनि जनताले धेरै कुरा पाउन सक्छन् त्यसैले पार्टी मिल्ने कुरा आफैंमा सकारात्मक हो तर विगमा मिलेका पार्टी किन फुटे, खासगरी वामपन्थी भनिनेहरुमा यति धेरै विभाजन किन आयो, अव एमाले माओवादी केन्द्र मिले भने किन फुट्दैनन् भन्ने आधार जरुरी हो । फुट्ने कुराको चोट एमालेले पनि भोगिसकेको छ भने माओवादी केन्द्रले त अझै भोगिरहेको छ ।

त्यसो लोकतान्त्रिक गठवन्धनको शक्ति नेपाली कांग्रेसले पनि त्यो चोट भोगेको छ, त्यसको अर्को शक्ति राष्ट्रिय प्रजातान्त्रिक पार्टीेले पनि भोगेको छ । मधेशमा केन्द्रीत दलहरुले पनि भोगिनै रहेका छन् । घुमाएर वग्रेल्ती पार्टी हुदा त्यसको असर जनतामा पनि परिनै रहेको छ । तसर्थ पार्टी एकता हुनु सकारात्मक हो यसै सन्दर्भमा एमाले र माओवादी केन्द्र विचको एकताको कुरालाई सकारात्मक लिनुपर्दछ तर एकताको मुख्य विषय नेताको समायोजन बन्नु दुरगामी हुन सक्दैन । एकताको प्रक्रियाका सिढी यो हुन सक्दछ ।

पृष्ठभूमि

एकताको पहिलो सिढी यसको पृष्ठभुमी हुनुपर्दछ । विश्व कम्युनिष्टको इतिहास र नेपालमा कम्युनिष्टको इतिहास, त्यसपछिका घटनाक्रमलाई केलाएर त्यसका कमजोरी, प्राप्त अवसर र उपलब्धी तथा संभावनाको पाटो यसको जग हुनसक्दछ । संख्यात्मक दृष्टिले मात्रै गरिने एकता दिगो हुन सक्दैन । यसको हेक्का दलहरुले राखेकै हुनुपर्दछ ।

आधार

एकताको निम्ति चाहिने अर्को पक्ष आधार पनि हो । त्यो आधार यस पटकको निर्वाचन परिणामले निर्धारण गरिदिएको छ । आधार तह वलियो हुन सक्दा र आधार तहवाटै त्यो आवश्यकता हुदा कुनै पनि पार्टीहरुको एकता वलियो हुन सक्दछ , बरु त्यो आधार कुन हदसम्मका लागि प्राप्त हो त्यो निक्र्यौल दलहरुले लगाउनुपर्दछ ।

विचार

एकताको सिढीको महत्वपुर्ण पक्ष भनेकै विचार हो । कुनै पनि दल निश्चित विचारवाट निर्देशित रहेको छ । पार्टी खुल्दा नै निश्चित विचार अवलम्वन गरिएको हुन्छ । यो अर्थमा पार्टी एकिकरणको मुल प्रश्न विचार कस्तो अगाल्ने भन्ने नै हो । अझ एमाले माओवादी केन्द्रको लागि यो अझ अहं पाटो हो । समाजलाई वुझ्ने दृष्टिकोणमा समेत समानता नभएको अवस्थाले यो विषय अझ बढी वहसमा जानुपर्दछ ।

जवजमा रहेको एमाले र जनयुद्धको जगमा रहेको माओवादी केन्द्र विच एकताको वैचारिक पाटो यो एकता प्रक्रियाको महत्वपुर्ण हिस्सा हुनुपर्दछ । विश्वमा कायम रहेको कम्युनिष्ट शासन सहीतका देशहरु मध्ये कुन शैली अवलम्वन गर्ने वा नया शिरावाट जाने भन्ने एउटा वहस हुन सक्छ भने कम्युनिष्ट शासन ढलेका देशहरु पाठ सिक्ने आधार हुन सक्दछ । संसदीय अभ्यासमा रहेको यी दुइ दलका लागि एकताको सिढी विचारको साझा विन्दु पहिल्याउन त्यति सजिलो भने हुने छैन । तर एकता गर्ने भएपछि यो विषयमा पार लगाउनै पर्दछ ।

गन्तव्य

एकता प्रक्रियाको सिढी अन्तर्गत अर्को पक्ष गन्तव्य पनि हो । एकताको उद्देश्यको निक्यौल गर्दै भविष्यको गन्तव्यको पहिचान पनि महत्वपुर्ण विषय हो । वर्तमान समाजलाई कसरी बुझ्ने र देशलाई भविष्यमा कुन दिशामा लग्ने यो विषयमा साझा मत हुनु आवश्यक छ । तत्कालिन र दिर्घकालिन लक्ष्यको पहिचान गर्दै कम्युनिष्टहरुले भनिरहने शत्रु अव के हुने भन्ने कुरा देखि अवको प्रतिष्पर्धा को सग, अहिलेको समस्या के हो र समस्याको समाधान के हुन सक्छ भन्ने पक्षमा पनि एमाले माओवादीका विचमा साझा मत देखिदैंन यो पक्ष पनि केन्द्रमा हुनुपर्दछ । समाजवाद उन्मुख भनिरहदा कस्तो खालको समाजवाद, त्यसको चरित्र कस्तो रहने यो विषय पनि एकता प्रक्रियामा छलफलको अग्रभागमा रहनुपर्दछ ।

पार्टी संचालनको विधि

पार्टी एकिकरण भएपछिको अर्को पक्ष पार्टी संचालनको विधि पनि हो । हुनतः नेपालका कम्युनिष्ट पार्टीहरुले पार्टी संचालन गर्न आफ्नै विधि अवलम्वन गर्ने गरेका छन् । विश्वमा रहेका अन्य कम्युनिष्ट पार्टीहरुले पार्टी संचालन गर्ने विधि र नेपालका कम्युनिष्ट पार्टीहरुले पार्टी संचालन गर्ने फरक देखिन्छ ।

यसलाई देश अनुसारको संरचना पनि भन्न सकिएला तर पनि अव यी दुइ पार्टी मिल्दा पार्टी संचालनको विधि के हुनसक्दछ ? अहिले वहुपदीय, शक्ति र जिम्मेवारी केन्द्रीत तरिकाले पार्टी संचालन भैरहेको छ । अव यो के रहने, चिनको जस्तो तरिकाले पार्टी चल्छ वा क्युबाको जस्तो या अन्य कुनै देशमा रहेका कम्युनिष्ट पार्टीहरुको तरिकाले यो पार्टी चल्छ वा भनौं फेरि पनि मौलिक शैली अपनाइन्छ यो विषयमा पनि साझा मत हुनु आवश्यक छ । नेताको व्यवस्थापन हेरेर विधि वनाउने नभई पहिला विधि बन्नुपर्दछ ।

केन्द्रीय समिति

पार्टी संचालनको विधि पनि केन्द्रीय समिति कस्तो बन्ने्, कति बनाउने अनि अहिले देश संघीयतामा गएकाले संघमा के गर्ने, प्रदेशहरुमा पार्टीको इकाई कसरी लग्ने, यो विषय पनि अहिले नै छलफल गर्नु बुद्दिमानी हुनेछ । नत्र पछि यो विषयले एकिकृत पार्टीलाई बलियो नभई कमजोर बनाउनेछ । तल्लो तहवाटै एकिकृत हुदा मात्रै पार्टी एकिकरण दिगो हुन सक्दछ ।

नेताको समायोजन

सबै प्रक्रिया टुग्याएपछि नेताहरुको समायोजनको विषय आउनुपर्दछ । नेताहरुलाई हेरेर पार्टी संचालन विधि, केन्द्रीय समिति या अरु कुनै काम गरिदा त्यो वैचारिक रुपमा व्यवहारिक देखिदैंन । पार्टीका सवै कुरा मिल्दा नेताहरु अहिलेको पोजिसनवाट वाहिर हुनुपर्ने अवस्था आउदा पनि तयार हुनुपर्दछ । नत्र सवैलाई भाग पुर्याएर एकिकरण गर्ने कुरा एकता नभई भागवण्डा मात्र हुन्छ । हो दुवै दलमा नेतृत्वमा आउन सक्ने नेताहरु छन् त्यसैले त पार्टी एकिकरणको कुरा आएको होला नत्र विलयको कुरा हुन्थ्यो तर यसमा के हेक्का राख्नुपर्छ भने नेताको समायोजन सग पार्टी एकताको कुनै सम्वन्ध रहदैंन ।

पार्टी मिलेपछि क्षमताको अनुसारको जिम्मेवारी पाउने कुरा रहन्छ तर नेताको सम्मानजनक समायोजन नभए त्यो एकता नभई विलय वुझाइ वस्दा एकता संभव हुदैन भएपनि त्यो दिगो नहुन सक्छ ।केपी ओली कहा राख्ने, पुष्पकमललाई के गर्ने, वामदेव गौतमलाई कसरी मिलाउने, राम बहादुर थापालाई के गर्ने, माधव नेपाल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठलाई कहा मिलाउने यसमा अड्कियो भने त्यो व्यक्ति मिलान मात्रै हुन जाने तर्फ सचेत हुनु जरुरी छ ।

एकिकृत भएपछि दुई पार्टी होइन एक पार्टी दुइ समुहका होइन एउटै समुहका नेता हुने अवस्था हुनुपर्दछ । अनि मात्रै एकता प्रभावकारी हुन सक्दछ । अहिले देखिनै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्य मन्त्री, मन्त्री, प्रदेश प्रमुख आदिमा अंश वण्डाको शैली अपनाए एउटा पार्टी स्थायी दुइ गुट बन्ने निश्चित छ । जुन पदमा जो गएपनि एउटै पार्टीका नेता हुन् भन्ने बुझाइ नै अंह हुनुपर्दछ ।यसो नभए एकता नभई मिलेर भागवण्डा गर्ने कुरा मात्र रहन्छ ।

सत्ता संचालनको विधि

राजनितिको अर्को पक्ष सत्ता संचालन पनि हो । अहिलेको एमाले माओवादी केन्द्रले सत्ता संचालनको मत पनि पाएका छन् । त्यसो त सत्तामा जान लागि अपनाइएको गठवन्धननै विस्तारै एकताको सिढी चढ्न थालेको बताइन्छ । यो अर्थमा अव सत्ता कसरी संचालन गर्ने भन्ने विषय पनि महत्वपुर्ण पाटो हो । सत्ता संचालनको विधि कस्तो बनाउने, देशलाई कुन दिशामा लग्ने यसको पुर्व तयारी पनि हुनु आवश्यक छ । कम्युनिष्ट शासन रहेका देशहरुको विधि हेरेर अघि बढ्ने या अन्य कुनै मौलिक विधि खोज्ने यो वहस हुनु जरुरी छ ।

दैनिक नेपाल बाट सभार

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: