Digital Newspaper

हे भगवान् ! एमालेको रक्षा गर !

अरूण बराल

‘आलोपालो’ को अन्तर्य र एमालेको अन्तरविरोध

एमाले महासचिव ईश्वर पोखरेलले चुनाव जितेको उपलक्ष्यमा पुस १ गते दिउँसो शंखपार्कमा प्रचण्ड र केपी ओली दुबै निम्त्याएर शुभकामना साटासाट कार्यक्रम राखेका थिए । तर, पोखरेलको निम्तो मान्नुपूर्व प्रचण्डले माधव नेपालसँग छलफल गरे ।

नयाँबानेश्वरस्थित एक होटलमा प्रचण्ड र माधव नेपालवीच आन्तरिक कुराकानी भएको थियो । प्रचण्डले अघिल्लो दिन केपी ओलीलाई भेटेपछि भोलिपल्ट माधव नेपालसँग भेट गरेका हुन् । ईश्वर पोखरेलको निम्तो शायद उसदिनको संयोग मात्रै थियो । किनभने एमाले महासचिव पोखरेलको चियापानमै ओली, प्रचण्ड र माधव नेपाल सँगै थिए । तैपनि प्रचण्ड र माधववीच छुट्टै भेटघाट भयो ।

त्यसको भोलिपल्ट, पुस २ गते अन्नपूर्ण होटलमा आयोजित एमाले-माओवादीको संयुक्त पत्रकार सम्मेलनमा एमाले र माओवादीका प्रायः सबै शीर्षनेताहरु भेला भएका थिए । त्यहाँ माधव नेपाल थिएनन् ।

चुनावअघिको चिसो

त्यसो त चुनावअघि नै माओवादी अध्यक्ष प्रचण्डले एमालेका शीर्षनेताको कोपभाजनमा पर्न थालेको अनुभूति गरिसकेका थिए । चितवनमा आयोजित चुनावी सभामा प्रचण्डले कांग्रेसलाई धेरै आलोचना नगरिदिन ओलीसमक्ष आग्रह गरे । चुनाव जित्नका लागि कांग्रेसका मतदाता नचिढ्याउने प्रचण्डको चाहना थियो । तर, प्रचण्डलाई सघाउन चितवन पुगेका ओलीले आफ्नो भाषणको अधिकांश समय कांग्रेसको आलोचनामा खर्चिए । यसबाट प्रचण्डको मनमा चिसो पस्यो ।

चुनावअघि प्रचण्डलाई के डर थियो भने कतै मलाई देशी-विदेशी शक्तिहरु मिलेर चितवन ३ बाट हराइदिने त हैनन् ? प्रचण्डलाई चितवनमै हराउन पाए न रहे बाँस, न बजे बाँसुरी । उनलाई यस्तो लागेको थियो ।

माओवादी स्रोतका अनुसार चितवन-३ मा चुनाव हार्ने डर प्रचण्डलाई भन्दा बढी उनका छोरा प्रकाश दाहाललाई थियो, जसको चुनावकै बेला हृदयाघातबाट मृत्यु भयो । प्रकाश दाहालले बारम्बार आफ्ना पितालाई चुनाव हार्ने जोखिम रहेको बताउने गरेका थिए । अन्ततः प्रचण्ड चुनावअघि निकै आत्तिएका थिए ।

यस्तो परिवेशमा आफूले भन्दाभन्दै केपी ओलीले चितवनको सभामा कांग्रेसको आलोचना गरेपछि प्रचण्ड थप चिन्तामा परे । उनलाई लाग्यो कि भोलि प्रधानमन्त्रीमा दाबी नगरोस् भनेरै ओलीले भित्रीरुपमा हराइदिन लागेका पो हुन् कि ?

यद्यपि ओलीले प्रचण्डलाई असहयोग पुग्ने नियतले कांग्रेसको आलोचना गरेको नहुन सक्छ । उनी भाषणमा बग्दै गएर कांग्रेसविरुद्ध खनिएका हुन सक्छन्, जसको अहिलेसम्म विश्लेषण भएको छैन ।

उता बर्दियामा चुनाव प्रचारका क्रममा वामदेव गौतमले आवेशमा आएर आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न खोजे । यसको ‘साइड इफेक्ट’ बारे गौतमले निर्वाचन नसकिँदै सुइँको पाइसकेका थिए ।

जब प्रचण्डलाई केपी ओलीको नियतबारे चिसो पस्यो, त्यसलगत्तै उनी माधव नेपाललाई सघाउन चितवनबाट काठमाडौं २ मा आए । र, माधवसँगै चुनावी अभियानमा खटिए । जब कि ओलीले काठमाडौं २ मा माधव नेपाललाई खासै सघाएनन् ।

पेप्सीकोलाको चुनावी अभियानमा प्रचण्ड र माधवले गाला जोडेका र कानेखुशी गरेका रोचक तस्वीरहरु सामाजिक सञ्जालमा छाए । यसो गरेर प्रचण्डले ओलीलाई यो सन्देश दिन खोजेका थिए कि उनी एमालेमा ओली गुटसँग मात्रै होइन, माधव गुटसँग पनि समदुरीमा रहन चाहन्छन् ।

पुस २ गते काठमाडौंमा भएको माधव-प्रचण्ड भेटको अर्थ पनि यही हो ।

माधव पक्षसँग बिग्रेको सम्बन्ध

एमाले र माओवादीवीचको ‘लभ-हेट रिलेसन’ बारे विश्लेषण गर्दा हामीले क्रमशः पाश्र्व-घटनाहरुतिर उल्टो नजर लगाउँदै जानुपर्ने हुन्छ, जसलाई सिंहको हेराइ अथवा सिंहावलोकन भन्न सकिन्छ ।

दशैंका बेला माओवादीलाई कांग्रेससँग घरजम टुटाएर एमालेसँग फूलमाला गराउने कार्यमा वामदेव गौतमको ‘सर्जिकल’ भूमिका थियो । यसमा माधव नेपाल पक्षको पनि असहमति थिएन । अन्ततः पार्टी नेतृत्वको ‘टावर’ मा रहेका केपी ओलीले समेत पहलकदमी लिएपछि प्रचण्डलाई कांग्रेसबाट एमालेको कित्तामा तान्न एमाले नेताहरु सफल भए ।

तर, चुनावमा टिकट बाँड्ने बेलासम्म आइपुग्दा माओवादी र माधव नेपाल समूहको सम्बन्ध बिगि्रयो । टिकट वितरणका बेला माधव नेपाल समूह र केपी ओली समूहवीच अन्तरविरोध देखिएको थियो र त्यो अन्तरविरोध एमालेभित्रको बंशाणुगत रोग नै थियो । यसपालिको चुनावमा चाहिँ केपी ओलीले आफूहरुलाई ठेगान लगाउनका लागि माओवादीलाई प्रयोग गरे भन्ने माधव नेपाल समूहलाई भान पर्न गयो ।

जहाँ माधव नेपाल समूहका नेताले टिकट पाउने हो, त्यो निर्वाचन क्षेत्रमा केपी ओलीले माओवादीलाई छाडिदिएको आरोप एमालेभित्र अझै सेलाएको छैन ।

जस्तै- उदयपुरमा जगन्नाथ खतिवडाले टिकट पाउने ठाउँमा माओवादीलाई दिइएको माधव नेपाल पक्षको गुनासो छ । र, माधव नेपाल पक्षलाई यसैगरी देशैभरिबाट ‘पाँडे पँजनी’ गर्नका लागि केपी ओलीले माओवादीलाई हतियारका रुपमा प्रयोग गरेको गुनासो एमालेभित्र भुसको आगोजस्तै पुत्पुताइरहेको छ ।

अब माओवादीसँग पार्टी एकता गरेपछि केपी ओली र प्रचण्डले आपसमा मिलेर हामीलाई भित्तामा त पुर्‍याउने होइनन् ? चुनावका बेलामा माधव नेपाल पक्षमा यस्तो मनोवैज्ञानिक त्रास उत्पन्न भएको थियो । र, यही कारणले माधव नेपाल समूह र माओवादीवीच सम्बन्ध हल्का बिग्रिएको थियो ।

अहिले माधव नेपालसँग निकटता बढाएर प्रचण्डले बिग्रेको सम्बन्धलाई सच्याउन खोजिरहेको देखिन्छ ।

एमाले अन्तरविरोधको कोपभाजन

यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने एमाले नेताहरुले माओवादीलाई केही पनि आश्वासनै नदिई, केही प्रलोभनै नदेखाई, खेतालोमात्रै बनाएर राख्नका लागि कांग्रेसबाट चुँडाएर ल्याएका थिएनन् ।

तर, एमाले र माओवादीवीचको पार्टी एकतालाई एमालेभित्रैको विभाजनले जोखिममा पार्न सक्ने खतरा देखिएको छ ।

माओवादीतर्फबाट भने एकतामा खासै जोखिम देखिँदैन । किनभने, गोपाल किराती र आहुतीलगायतका केही नेताले पार्टी एकताको विरोध गरे पनि माओवादीभित्रको मूल नेतृत्व पार्टी एकता गर्ने पक्षमा दृढ देखिएको छ । एमालेभित्रको वास्तविकता भने सरल रेखामा छैन ।

नेकपा एमालेभित्र विगत लामो समयदेखि आन्तरिक लोकतन्त्रको बहस हुँदै आएको छ । केपी ओली पक्षले आन्तरिक लोकतन्त्र नदिएको र आफूहरुलाई किनारामा पार्दै आएको गुनासो माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले समेत बेलाबखत गर्दै आइरहेका छन् । दोस्रो पुस्ताका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईहरुले पनि बेलाबखत यस्तो गुनासो गर्ने गरेको सुनिन्छ, एमालेभित्र ।

एमालेमा यसपालिको टिकट वितरण, त्यो भन्दाअघिको स्थानीय चुनाव र अझ त्यसअघि ओली मन्त्रिमण्डलमा पनि असन्तुष्टिहरु मुखरित भएकै हुन् ।

केपी ओलीले पार्टी हैन, गुट चलाउने गरेको गुनासो एमालेभित्र तीब्र छ । र, यही अन्तरविरोधमा जेलिएको एमालेसँग माओवादीले सहकार्य, तालमेल र पार्टी एकतासमेतको निर्णय गरेको अवस्था छ ।

नेकपा एमाले आफैं भावनात्मक रुपमा एक हुन नसकेको पार्टी हो । उसले अब माओवादीलाईसमेत आफ्नो घरमा ल्याएर एक बनाएर राख्नुपर्ने चुनौतीको भारी बोकेर ठिमीको उकालो पार गर्नुपर्ने अवस्था छ ।

एमालेभित्रको अन्तरविरोधले ल्याउन सक्ने सबैभन्दा ठूलो जोखिम के हो भने माओवादी नेताहरु माधव नेपाल पक्षसँग बढी उठबस गरेको अवस्थामा ओली समूूहले पार्टी एकतालाई टार्न वा पर धकेलिदिन सक्छ ।

अझ पार्टी एकतापछि पनि ओली समूहको सत्ता (पार्टी र सरकार दुबैमा) सुनिश्चितता बाँकी रहन्छ कि रहँदैन ? यसको सुनिश्चिता भएपछि मात्रै एमालेको संस्थापन पक्ष माओवादीलाई आफ्नो घरमा भित्र्याउन तयार हुनेछ ।

माओवादीलाई भित्र्याउँदा माधव नेपाल समूहलाई बल र बहुमत पुग्ने अवस्था देखियो भने केपी ओलीले बरु उपेन्द्र यादवहरुलाई खोज्न थाल्नेछन् र माओवादीलाई ढोकामा छिर्न दिने छैनन् । सुन्दा निकै तीतोजस्तो लागे पनि एमालेभित्रको आन्तरिक अन्तरविरोधले सिर्जना गरेको वा गर्न सक्ने जटिल यथार्थ यही नै हो ।

एमाले अन्तरविरोधको यो कोपभाजनको पहिलो शिकार माओवादी नेताहरु बन्ने खतरा चुनावअघि र पछि पनि देखिन थालिसकेका छन् ।

घुम्न वा ‘रिफ्रेसमेन्ट’ कै लागि सही, यसैसाता हेलीकोप्टरमा रसुवा जाँदा केपी ओलीले आफ्नो टोलीमा माधव नेपाललाई किन लगेनन् ? नेपाल समूहका अरु नेतालाई किन लगिएन, जहाँ ओली समूहका नेताहरुले ६/७ घण्टा बिताए ? यसैबाट थाहा हुन्छ कि एमालेभित्रको दुई गुटको झगडा सामान्य छैन । र, यसले पार्टी एकतामा निकै ठूलो समस्या खडा गर्न सक्ने खतरा छ ।

‘नीलो स्याल’को बिम्ब

माओवादी र एमाले कसरी आपसमा नजिकिए भन्ने गोहो पहिल्याउँदै जाने हो भने माधव नेपाल र वामदेव गौतमसम्म पुगेर ठोकिन्छ ।

विस्मृतिको रोगबाट एकैछिन मुक्त भएर हेर्ने हो भने यो गठबन्धनमा केपी ओलीको योगदान ‘निमित्त’ मात्रै हो । एक समय झलनाथ र वामदेव गौतम माओवादीसँग नजिक भएकोमा उनीहरुलाई ‘नीलो स्याल’ को बिम्बले सुशोभित गर्ने पनि केपी ओली हुन् ।

माओवादीलाई जंगलबाट राजनीतिको मूलधारसम्म ल्याउने अभियानमा माधव नेपाल र वामदेव गौतमले भूमिका खेलेका थिए । अहिले दुबै दललाई एकै ठाउँमा उभ्याएर कांग्रेसको साथ छुटाउने ‘नीलो स्याल’ पनि यिनै वामदेव गौतम नै हुन् ।

रोचक त के छ भने चुनावी तालमेलको मात्रै प्रस्ताव लिएर जनार्दन शर्मासँगै प्रचण्डलाई भेट्न पुगेका वामदेव गौतमलाई तालमेलमात्रै किन ? पार्टी एकता नै गर्न तयार छु भनेर पहिलो प्रस्ताव राख्ने व्यक्ति प्रचण्ड हुन् । एमाले र माओवादीवीच पार्टी एकताका पहिलो प्रस्तावक वामदेव नभएर प्रचण्ड आफैं थिए ।

माओवादीलाई एमालेको तर्फबाट जसले राजनीतिको मूलधारमा ल्यायो, जसले विगतमा पनि वाम गठबन्धनको कुरा उठायो, उसैको भूमिकालाई ओझेलमा पारेर माओवादीसँग पार्टी एकता गरेपछि आफ्नो गुट बलियो हुन्छ भन्ने केपी ओली पक्षले सोच्यो । र, एमालेको संस्थापन पक्ष यही फाइदाको आँकलनका साथ ‘नीलो स्याल’ ले ल्याएको लाइन स्वीकार्न तयार भयो ।

तर, चुनाव सकिइसकेपछि जब माओवादी नेताले दशैंका बेलाको पूर्वसहमतिको कुरो उठाए, यसबाट एमालेको संस्थापन पक्षलाई धक्का लागेको छ । शायद यही कारणले ऊ माओवादीलाई किनारा लगाउने नियतले उपेन्द्र यादवतिर सहकार्य गर्न सकिन्छ कि भन्ने शीघ्रपतनको बाटो खोज्दैछ । शायद यसको भद्दा ‘कोरियोग्राफी’ रसुवाको चिसोमा बसेर तयार पारिएको हो ।

माओवादी नेताहरु वामदेव र माधव नेपाल पक्षसँग पनि समदुरीमै रहने र एमालेभित्रको अन्तरविरोधबाट जोगिने प्रयासमा लागेका छन् । तर, यति गर्दागर्दै पनि फुटेको एमालेसँग जोडिन माओवादीलाई सजिलो छैन ।

माओवादीका एक नेताले सुनाए – ‘बलियो भनेको एमाले पार्टी त गुटबन्दीले गर्दा भित्रभित्रै खोक्रो पो हुन लागेको रहेछ । उनीहरुभित्रको झगडा हामीले मिलाइदिनुपर्ने अवस्था छ । कतिपय नेताहरुवीच आपसमा बोलचाल र सम्वादसमेत नहुँदोरहेछ ।’

एकताको ‘अनुबन्धन’ बाट भाग्ने ठाउँ छैन

निर्वाचनपछिको परिस्थितामा अब एकताबाट भाग्न सक्ने अवस्था न एमालेलाई छ, न त माओवादीलाई नै । अब जसले पार्टी एकतामा अवरोध गर्छ, त्यो जनता र कार्यकर्ताहरुबाट अस्वीकृत हुन सक्छ ।

अब कुन नेता वा कुन गुटको अस्थित्व के हुन्छ भन्ने जोडघटाउले मात्रै वाम गठबन्धन टुट्ने वा टुटाउने स्थिति देखिँदैन । किनभने उनीहरुले पाएको जनमत गठबन्धन गरेर स्थिर सरकार चलाऊ र एकतावद्ध होऊ भन्ने नै हो ।

हो, पार्टी एकता गरेपछि केपी ओली समूह अल्पमतमा पर्न पनि सक्छ । तर, यसो भनेर अब उम्किन सक्ने ठाउँमा एमाले नेताहरु छैनन् । केपी ओली आफैंले हस्ताक्षर गरेको अनुबन्धनमा बाँधिइसकेका छन्, अब कुनै पनि बाहनामा पूर्वसहमतिबाट भाग्ने सुविधा ओलीलाई छैन । र, प्रचण्डलाई पनि छैन ।

प्रचण्डले अाइतबार चितवनबाट भनेका छन् पुल भत्किसक्यो, एकताबाट पछाडि फर्किने ठाउँ छैन् ।

आलोपालोको अन्तर्य

दशैंका बेला पार्टी एकता र चुनावी तालमेलबारे छलफल हुँदा चुनावपछि आलोपालो सरकार चलाउने भन्ने सहमति बुँदा नम्बर ३ मा लेखिएको थियो । पछि यसलाई सार्वजनिक गरिएन र जेन्टलमेन्ट एगि्रमेन्टका रुपमा राखियो ।

लोपालोको यो सहमति केपी ओलीले दशैंको टीका लगत्तैको एमाले बैठकमा केन्द्रीय सदस्यहरुलाई समेत सुनाएका थिए ।
त्यो आलोपालोको अर्थ यो हुन्थ्यो कि भावी प्रधानमन्त्री केपी ओलीमात्रै होइनन्, प्रचण्ड पनि हुन् । तर, यसरी आलोपालो सरकार चलाउने कुरा वाम नेताहरुले चुनावमा जनतालाई सुनाएनन् । र, एकप्रकारले मतदातालाई समेत गुमराहमा राखे ।
जब माओवादी नेताहरुले आलोपालो सरकार चलाउने पूर्वसहमति भएको जनाऊ दिए, लगत्तै माओवादीलाई कतिपयले ‘धोकेबाज’ इत्यादि भनेको सुन्न थालिएको छ । तथापि यसको भित्री रहस्य बेग्लै छ ।

राजनीतिमा इमानलाई ठाउँ दिने हो भने एमाले-माओवादी दुबै पार्टीका नेताहरु आफ्नो पूर्वसहमतिमा इमान्दार हुनैपर्छ । लिखित र अलिखित दुबै सहमतिमा नेताहरु इमान्दार भएनन् भने दुई पार्टी वीचको एकतामा अप्ठ्यारो पर्न सक्छ ।

आलोपालो सरकार चलाउँदा स्थिर सरकार बन्दैन र जनतासँग भोट माग्दा वाम गठबन्धनका नेताहरुले स्थिर सरकार दिन्छौं, बहुमत दिनोस् भनेका थिए । अहिलेको जनमत भनेको एमालेले पाँच वर्ष चलाउने भन्ने बहुमत हैन । एमाले एक्लैलाई जनताले बहुमत दिएका होइनन्, माओवादीसँग मिल्दामात्रै बहुमत पुग्नेगरी जनमत दिएका हुन् ।

जनमतले नै यस्तो भनेको छ कि एक्लै पाँचवर्ष नचलाऊ, मिलेर चलाउ । यस्तो बेलामा कसैले एउटै पार्टीले पाँच वर्ष चलाउने बहुमत पाएको दाबी गर्छ भने त्यो चुनावी परिणामसँग मेल खाने दाबी होइन ।

तर, एमाले र माओवादीवीच पार्टी एकता भयो भने त्यसबेला एउटाको बहुमत पुग्न सक्छ । तर, त्यो बेला केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ वा बन्छन् भन्ने ग्यारेन्टी हुँदैन । प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्छन्, माधव नेपाल पनि बन्न सक्छन् । संसदीय दलमा जसले जित्छ, उसैले प्रधानमन्त्री चलाउने अवस्था आउन सक्छ त्योबेला । पार्टी एक भइसकेपछि ओलीले नै सबै थोक चलाउनुपर्छ र चलाउन सक्छन् भन्ने पनि छैन ।

एमाले र माओवादीवीच विचार र राजनीतिको भिन्नताका विषयमा त अझै छलफल भएकै छैन । मधेसलाई हेर्ने, संविधान संशोधनलाई हेर्ने लगायतका विषयमा रहेका मतभेदहरु कार्पेटमुनि छोपेर दुबै दल चुनावमा गएका हुन् । यी विषयमा छलफल र बहस नै हुन नपाई दुई दलका नेताहरु नेतृत्वका विषयमा लड्डी पर्न थालेका छन् ।

आखिर, माओवादी र एमालेवीच विगतमा के सहमति भएको हो ? सरकार र पार्टी अध्यक्ष आलोपालो चलाउने सहमति भएको हो कि हैन ? पार्टी सामुहिक नेतृत्वमा चलाउने भनिएको हो कि सबै पद एउटै व्यक्तिमा केन्दि्रत गर्ने भनिएको हो ? यसबारे एमाले नेता ईश्वर पोखरेल र वामदेव गौतमका भनाइहरु बाझिएर आएपछि नै वाम गठबन्धनभित्र गडबडी सुरु भएको हो ।

अन्तिममा, माओवादी र एमालेवीच एकता हुनुपूर्व स्वयं एमाले पार्टीभित्रै एकताको खाँचो देखिएको छ । एमालेमा आन्तरिक एकता हुन नसकेकैले उसभित्रको अन्तरविरोधको कोपभाजनमा पार्टी एकतालाई पार्न खोजिँदैछ । एमालेजन, जो आफ्नै घरभित्र एक हुन सकिरहेका छैनन्, उनीहरुले अरुलाई, जनतालाई र सिंगै देशलाई एकतावद्ध बनाउँछौं भनिरहेका छन् ।

लेनिनले मेन्सेविकलाई भन्ने गरेको उक्ति सापट लिने हो भने यसो भन्न सकिन्छ- हे भगवान् ! एमालेको रक्षा गर !

अनलाईनखबरबाट साभार गरिएको ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: