Digital Newspaper

विवाह नगरी बस्नुको अर्थ यो होइन कि म चरित्रहीन छु

म अखबारमा मेट्रिमोनियल पेजमा आफ्नो भाइको लागि बेहुली खोज्नका लागि एउटा विज्ञापन हेरिरहेको थिएँ ।

एक जना नातेदारले एक लाइनलाई रातो मसीले हाइलाइट गरे, जहाँ लेखिएको थियो, ‘उसको एक जना अविवाहित दिदी पनि छन् ।’ उनले रिसाउँदै भने, ‘दिदीको अहिलेसम्म बिहे नहुनु भनेको हाम्रो छोराको लागि एउटी असल युवती खोज्नमा निकै समस्या हुन्छ ।’

उनका यी शब्दले मेरो मुटुमा तीरले हानझैँ नै भयो । मलाई भक्कानो फुट्ला झैँ भयो । जसोतसो मैले खस्न लागेका आँसुलाई रोकेँ ।
साँच्चै भन्नु पर्दा म क्रोधले चुर भएकी थिएँ कि उनी यस्तो कुरा कसरी गर्न सक्छन् ?

उनको कुरा सुनेपछि मलाई यस्तो लाग्यो कि कसैले मेरो घाँटी थिचिरहेको छ जसले गर्दा मलाई सास फेर्न समस्या भैरहेको छ । म जोडले चिच्याउन चाहन्थे कि मेरो विवाह नगर्ने फैसला मेरो भाइको असल केटी पाउने बाटोमा कसरी तगारो बन्न सक्छ ? तर त्यस घडीमा म चुप रहनुमै उत्तम ठानेँ ।

मलाई यो आशा थियो कि मेरो बुवा र मेरो भाइ ती नातेदारको कुराको विरोध गनर््ेछन् तर उनीहरुले पनि बाँकी नातेदारलेझैँ मेरो दुःखलाई किनारा लगाउनुमै उत्तम ठानेँ ।

मेरी आमा मेरो दुःख बुझ्नुहुन्थ्यो । कैयौँ पटक उहाँले यस्ता मन दुखाउने कुरालाई अन्त्य गर्न असफल प्रयास पनि गर्नुभएको थियो । मेरी आमा छोराको बिहे हुँदैछ भन्ने कुराले निकै खुशी हुनुहुन्थ्यो । एक समय थियो मेरा आमाबुवा मेरो बिहेको पनि सपना देख्ने गर्नुहुन्थ्यो ।

दुई जना भाइ बहिनीमध्ये म ठूली थिएँ । त्यसैले यो पहिले नै तय थियो कि मेरो विवाह पहिले हुन्छ तर मैले यसो गरिनँ ।  जब मैले मेरो आमाबुवाको खुशी लल्कारेँ जसको सपना उहाँहरु सधैँ देख्नुहुन्थ्यो । यसैका कारण पनि पछिल्ला केही वर्षदेखि हाम्रो बीचमा धेरै नै तनावपूर्ण वातावरण सिजिैत हुन पुग्यो ।

यसै गरी यो चिन्ता तथा प्रश्न मेरा नातेदार तथा केही साथीभाइका बीचमा पनि प्रकट भयो । केही साथीका चिन्ता त बुझ्न सकिन्थ्यो तर कसै–कसैका चिन्ता भने अर्थ न वर्थका थिए ।

जब एक दिन मेरी एक पुरानी स्कुले साथीले मसँग भने, ‘मलाई थाहा छ कि तिमी विवाह गर्न चाँहदिनौँ । तर पनि तिम्रा  केही इच्छा त जरुर होलान् नि । यदि तिमी चाहन्छौ भने म तिम्रा ती इच्छाहरु पूरा गर्न सहयोग गर्न सक्नेछु ।’

उसले भन्यो कि उसलो यो शर्त राख्यो कि उसको श्रीमती र छोराछोरीलाई यो कुराको बारेमा सुइँकोसम्म थाहा नहोस् ।
म त्यो साथीको कुरा सुनेर अचम्ममा परेँ । हो, यो सत्य थियो सिक म आफ्नो आवश्यकता तथा इच्छाहरुसँग अपरिचित थिइन । यसका लागि मलाई एक पार्टनरको जरुरत पनि थियो । तर यसको मतलब म जसका लागि पनि ‘उपलब्ध’ छु भन्ने कुरा त म कहिल्यै स्वीकार गर्न सक्ने थिइन ।

यो भन्दा नि चिन्ताको विषय यो थियो कि यसरी प्रस्ताव राख्ने व्यक्ति मेरो पुरानै साथी थियो, जसका बारेमा मैले यस्तो कहिल्यै सोचेको थिइन ।
मलाई लाग्छ कि उसको प्रस्तावसँग मलाई त्यति धेरै रिस उठेन, तर उसको मनमा मेरो बारेमा यस्तो सोच कसरी पलायो भन्ने कुराले चाहिँ मलाई चिन्तित बनायो ।

त्यसमाथि यसलाई उसले एक ‘सहयोग’ र ‘सेवा’ भनेको त बकवास नै थियो । उसको यही कुराले नै हामीबीचको साथीत्वमा जुन प्रगाढता थियो त्यसलाई खत्तम गर्न काम गर्यो । उसँग भेट्ने कुराले ममा एक किसिमको डर पैदा गथ्र्यो । आज पनि म उसँग कुरा नगर्न हरसम्भव प्रयास गरिरहेकै हुन्छु ।

जब मान्छेहरुलाई म सिंगल भएको थाहा हुन्छ । मप्रतिको उनीहरुको विचारमै परिवर्तन आउँछ । मसँग उनीहरुको कुरा गर्ने तौरतरिका नै  बेग्लै हुन्छ । तर म यी कुराले चिन्तित छैन । यो सबै मेरा लागि सामान्य भैसक्यो अब । आफ्नो फैसला म आफै लिन्छु ।

मेरो ‘रुची’ र ‘अरुची’ आफ्नै फैसला अनुसारको हुन्छ । आज म ३७ वर्षकी भएँ र एक्लै बस्ने मेरो निर्णयले मलाई कुनै पश्चाताप छैन । म त्यसबेला २५ वर्षकी थिएँ जब मैले पहिलो पटक विवाह नगर्ने कुरा आमालाई बताएकी थिएँ । मैले पैसा कमाउन सुरु गरेकी थिए र म चाहन्थे कि मेरा सपना पूरा गरुँ, सफलताको सर्वोच्च शिखरमा पुगूँ ।

मलाई लाग्छ मेरी आमाले मेरो मनको कुरा बुझ्नुभएको थियो तर बाँकी मानिसहरुको सवालजवाफको अगाडि उहाँ पनि मजबूर हुनुहुन्थ्यो ।

‘छोरीको विवाह कहिले गर्दैछौ ? ‘यदि राम्रो केटा भेटिएको छैन भने हाम्लाई भनन हामी खोज्छौँ’ जबजब म करिअर बनाउँदै गैरहेकी थिएँ मेरा लागि केटा खोज्ने काम तीव्र हुँदै गयो ।

मान्छेहरु मेरा आमाबुवासँग भन्ने गर्थे कि विवाह गरेपछि सुरक्षित भइन्छ । तर उनको कुराको ठिक उल्टो म सुरक्षाकै लागि विवाह गर्न चाहन्नथेँ । मलाई थाहा थियो कि मेरो आमाबुवाको मनमा के चलिरहेको छ । उनीहरुको छोरीको विवाह गर्ने उमेर घर्कँदै थियो र पनि उनीहरुकै घरमै बसिरहेकी छे ।

मेरो बुवा चाहनुहुन्थ्यो कि छिट्टै विवाह गरेर म घर बसाउँ । त्यसैले मैले एक होइन, दुई होइन, १५ जना केटाहरु हेरेँ । म मेरो बुवाको चिन्ता पनि बुझ्थेँ । त्यसको कदर पनि गर्थेँ । त्यसैले ती केटाहरुसँग भेट्न तथार भएँ । तर मलाई एउटा पनि मन परेन ।

यही अनुभवका कारण पनि आहिर म किन विवाह गर्न चाहँदिन भन्ने कुरा बुझाउन पनि सजिलो भयो । मेरो आमाबुवाले त यो कुरा बुझ्नुभयो तर बाँकी दुनियाँ जसले मेरा बारेका अनेकन धारणा बनाए ।

उनीहरुलाई लाग्थ्यो कि मैले धेरै नै नखरा पारिरहेकी छु । मलाई घमण्डी, आवारा, आमाबुवाको इच्छाको कदर नगर्ने, बेवकूफ, असभ्य, कुनै भ्रमको शिकार भएकी केटीजस्ता अनेकौं पगरी उनीहरुले गुथाए ।

म यो बुझ्दिनथेँ कि मेरा बारेमा तरह–तरहका कुरा गरेर उनीहरुलाई कसरी आनन्द प्राप्त हुन्थ्यो ? जब यी सबै कुराले पनि उनीहरुको पेट भरिन्नथ्यो अनि मेरो चरित्रका बारेमा अनेक कुरा गर्थे ।

तर मेरो विचार स्पष्ट थियो । कुनै प्रकारको प्रेम सम्बन्ध राख्न वा लिभ–इन रिलेसनसिपमा बस्नुमा कुनै खराबी थिएन । दुनिया यस प्रकारको विचारभन्दा कैयौँ अगाडि बढिसकेको छ । जे कुराबाट मलाई आनन्द प्राप्त हुन्छ त्यो म जुनसुकै बेला गर्न सक्छु । महिला अब कुनै प्रकारको पिंजडामा थुनिएर बस्न सक्दैनन् ।
म मात्र स्वतन्त्र भएर बाच्न चाहन्छु । विवाह मलाई एक प्रकारको बन्धन जस्तो लाग्छ ।

म आकाशमा उड्ने चराजस्ता बन्न चाहन्छु, मेरो मनले जस्तो भन्छ म त्यस्तै जिन्दगी जिउन चाहन्छु । मन लाग्यो त पूरा दिन घरमै बिताउँ वा मन लाग्यो त पूरा रात बाहिरै बिताउँ । क्लब, डिस्को, मन्दिर, पार्क जहाँ मन लाग्छ त्यहीँ जाउँ, जब मन लाग्यो कि घरको सबै काम गरुँ, मन लागेन भने खाना पनि नबनाउँ ।

म यस्तो जिन्दगी चाहन्न कि बिहान–बिहान  सासूको लागि चिया बनाउँ । श्रीमानका लागि खाजा तयार वा बच्चालाई स्कूल पठाउने चिन्ताले सताइरहोस् ।
मलाई एक्लै बस्न मन पर्छ । मलाई स्वतन्त्रतासँग प्रेम छ । यो कुरा म जति पटक पनि दोहोर्याउन सक्छु कि जति पटक मैले यो कुरा कसैलाई बुझाउन दोहोर्याउनु परेको छ ।

मैले थुप्रै यस्ता विवाहित महिला देखेकी छु कि जसको ठूलो परिवार छ, छोराछोरी छन्  तर पनि उनीहरु एक्लोपन महसुस गर्छन् । जबकि म त्यस्तो एक्लोपन महसुस गर्दिन, मेरो परिवार अनि साथी पनि छन् । म त्यही सम्बन्धलाई प्राथमिकता दिन्छु जसले मलाई आनन्दपूर्वक र स्वतन्त्रतापूर्वक बाँच्न सघाउँछ ।
हाम्रो समाजमा एक अविवाहित युवतीलाई कसैको बोझका रुपमा हेरिन्छ । तर म कहिल्यै बोझ बनिन ।

म दुनियाँ भ्रमण गरेकी छु । म आफै पैसा कमाउँछु । र त्यो कसरी कहाँ खर्च गर्ने भन्ने निर्णय म आफै गर्छु । मैले आफ्नो कामबाटै आफ्नो परिचय स्थापित गरेकी छु र मेरो प्रशंसामा थुप्रै्र लेख पनि लेखिइसकेका छन् । जुन अखबार मेरो विवाह नगर्ने फैसलालाई मजाक बनाउँथे तिनले पनि आज म एकल महिला भएकोमा प्रशंसा गर्छन् ।

मेरो आमाबुवालाई आज मप्रति गर्व छ । उहाँका साथीहरु आफ्नी छोरीहरुलाई सफलताको उदाहरण दिनुपर्दा मेरै उदाहरण प्रस्तुत गर्छन् । अन्त्यमा मलाई यो कुराले केही फरक पार्दैन कि मेरो रुचीका बारेमा जसले जेसुकै सोचोस् । मैले यो फैसला मेरै लागि लिएकी हुँ र त्यसलाई मैले सही पनि प्रमाणित गरेँ ।

(यो भारतको उत्तर–पश्चिमी क्षेत्रमा बस्ने एक महिलाको वास्तविक कहानी हो । यो बीबीसी संवाददाता अर्चना सिंंहसँगको कुराकानीमा आधारित छ ।)
(#HerChoice बीबीसीको विशेष श्रृङ्खला हो  जसमा भारतीय महिलाको वास्तविक जीवनका कथा, आधुनिक भारतीय महिलाका विचार तथा उनीहरुको अगाडि रहेको विकल्प, उनीहरुको आकांक्षा, उनीहरुको प्राथमिकता तथा इच्छालाई प्रस्तुत गरिन्छ ।)

-अनुवाद : उपेन्द्रराज पाण्डेय

-उज्यालो अनलाइन बाट साभार

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: