Digital Newspaper

केहि दिनभित्रै एमाले र माओबादी पार्टी नै समाप्त हुन्छ-लालबाबु पंण्डित

लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ । यसअघि सामान्य प्रशासन मन्त्री बन्दा डिभी पिआर लिएका सरकारी कर्मचारीलाई जागिर छाड्न वा डिभी पिआर त्याग्न बाध्य बनाएका मन्त्री पण्डितसँग गरिएको कुराकानी:

सरकारले कहिलेसम्ममा कसरी पूर्णता पाउँछ ?
प्रधानमन्त्री ज्युले तीन चार दिन भित्रमा सरकारको विस्तार हुन्छ भन्नु भएको छ । प्रधानमन्त्री ज्युको भनाइ अनुसार हामी अब सरकार विस्तारको प्रतिक्षा मै छौं ।

छिट्टै विस्तार हुन्छ अब ?
हो, छिट्टै विस्तार हुन्छ ।

सरकार विस्तारकै कुरा गर्दा त तपाईहरुसँगैको सरकारमा अर्को सहयात्री दल माओवादी पनि त आउँछ नि, हैन र ?
माओवादी सरकारमा आउने कुरा हुन्छ । पार्टी पनि एकता भएर जान्छ । त्यसपछि चाहिँ न एमाले रहन्छ न माओवादी रहन्छ । हामी सबै नेपाल कम्युनिष्ट पार्टीका हुन्छौँ, अहिले दोभानमा छौं । अलि दिनपछि दोभानको अर्थ सकिन्छ ।

भनेपछि तपाईँले त एमाले पनि र माओवादी पनि नरहने कुरा गर्नुभो होइन् ? दुईटै पार्टी मिलेर नयाँ पार्टी बन्ने हो ?
हो हो ।

नयाँ पार्टीको नाम पनि जुरिसकेको हो र ?
नाम चाहिँ नेपाल कम्युनिष्ट पार्टी मात्रै राख्ने कुरा भइरहेको छ ।

अब तपाईको कुराले त लगभग लगभग मिलेजस्तो कुरा नै भयो ?
लगभग मिलिसकेकै छ । अब केहि प्रविधिक कुरा मिलाउन बाँकी छ । त्यो मिलेर जान्छ ।

प्राविधिक कारणले नै हो त तपाईहरु दुई जना मात्र मन्त्री बन्नुभएको ? नत्र त बिहीबारै पनि त दुई पार्टी नभइकन एउटै पार्टीका रुपमा तपाईँसगै अरु साथीहरु पनि त सरकारमा जानुहुन्थ्यो नि होइन ?
हो जानुहुन्थ्यो, त्यहि दिन केहि अझै थप मन्त्रीहरुको नियुक्ति भएको भए वेश हुन्थ्यो । तर अब चाहिँ एकता तिर अगाडि बढेको हुनाले त्यो दिन उहाँहरु सरकारमा आउनु भएन । तर पार्टी एक भएपछि उहाँहरु पनि मन्त्रीपरिषदमा आउनु हुन्छ । अब चाहिँ हामी फरक छौं भनेर ठान्दैनौ, फरक ठाउँबाट आयौं, त्यो मान्दैनौ, हामी एक छौं, हामी एक भएर अगाडि बढ्छौं त्यही दिशामा हामी केन्द्रित छौँ ।

तपाईले एक भएर अगाडि बढ्ने कुरा गरिरहनु भएको छ । तर तर शीर्ष नेतृत्वबीच कुराकानी हुँदा भागबण्डाको कुराहरु भइराखेको छ, प्रदेशमा हेर्‍याैँ भने प्रदेश सरकार बन्दै छन्, प्रदेश सरकारमा पनि भागबन्डाका कुराले सरकार विस्तार हुन सकिराखेको छैन । यस्तो स्थितिमा एक भएर जान्छौ भन्ने आधारहरु के–के हुनसक्छन् ?
एक भएर चाहिँ जाने कुरा नहुन्जेलसम्म त फरक कुरा रहने नै भयो, एक भएर गएपछि मैले अगि पनि भने दोभानसम्म फरक फरक खोलाको पानी रहन्छ । दोभानदेखि तल गयो भने पानी छुट्याउन सकिदैन । गंगामा बागमतीको पानी छुट्याउन सकिदैन । गंगामा पुगेपछि गंगाकै पानी हुन्छ । बागमतीमा रहुन्जेल बागमतीकै पानि हुन्छ । त्यसकारणले गर्दाखेरी अब चाहिँ घोषणा भए पश्चात अब एउटै पार्टी हुन्छ ।

हाम्रो समाजमा देखिराख्नु भएको छ । फरक फरक परिवारबाट चाहिँ विवाह गरेर सँगै मर्ने सँगै बाच्ने कसम खाएर आएका हुन्छन्, तर अलि दिन चाहिँ माइतीको धङ्धङ्गी रहन्छ र ससुरालीमा आएको धङ्धङ्गी पनि त रहन्छ । अलि अलि धङ्धङ्गी त रहन्छ त्यो स्वभाविक कुरा हो ।

तर पनि त्यो धङ्धङ्गी किन रहिरहेको होला ?
अलिअलि आउँछ नि, कहाँ कहाँ माया बसेको छ, माया बसेको कतिपय ठाउँको माया टुट्नुपर्छ, कतिपय ठाउँको माया विकास हुनुपर्छ । तर यो माया विकास हुने सन्दर्भ मै चाहिँ कतिपय ठाउँको माया टुटेर जान्छ । त्यसैले अहिले धङ्धङ्गी छ ।

तपाई भित्र्याउने पक्ष भएर यो भनिराख्नु भएको छ कि ?
भित्र्याउने पनि नभनौ सँगसँगै जाने भनौँ न । घर चाहिँ दुई तीर घरै छ तर एउटा घरमा त भित्रिनै पर्‍यो नि होइन ?

त्यस कारणले गर्दाखेरि कहिँ कोहि समाहित हुने भन्दा पनि स्वभाविक रुपमा एक ठाउँमा हुने हो । अब अहिलेसम्म ७० र ३० को कुरा हिजो ६० र ४० को कुरा थियो । त्यसकारणले गर्दा अब अहिलेसम्म यो फरक फरक छ । फरक फरक अब धेरै दिन रहँदैन ।

आजको दिनमा पनि त्यो छ ?
छ छ ।

केन्द्रमा अब केन्द्रीय सरकार तपाई मन्त्री रहनु भएको प्रधानमन्त्री केपी शर्मा ओली नै रहनु भएको सरकारमा सहभागी हुने कुरामा पनि छ । सँगसँगै प्रदेश सरकारमा पनि त्यहि अनुसार भिन्न भिन्न दलका रुपमा भागबण्डा भइरहेको छ नि, होइन् ?
हो जहिलेसम्म अस्तित्व छ तहिलेसम्म अस्तित्व स्विकार गर्नुपर्‍यो ।

एकै छौं भनेर भनि रहँदाखेरि ७०–३०, ६०–४० का कुरा किन आइराखेका छन् त ?
बाचा बन्धनमा बाँधिएर सँगै मर्ने सँगै बाँच्ने कसम खाएकाले त कहिलेकाहिँ म एक्लै माइत जान्छु पनि भन्छन् । कहिले मिलेर ससुराली जान्छु भन्छन् । माइती एक्लै जानु र सँगै मिलेर ससुराली जानुमा फरक कुरा हो की होइन् ? हो त्यो अर्थमा पनि बुझिदिए हुन्छ । सँगै मिलेर जाँदा मन मिलेर गएको हुन्छ, एक्लै जाँदाखेरि घुर्काको हुन्छ । तर के हुन्छ त्यो घुर्काएको कुरा धेरै दिन टिक्दैन, सँगै मिलेर जाने कुरा त अन्तिम बाँचुञ्जेलसम्म टिक्छ । हामी बाँचुञ्जेल टिक्ने कुरा गरिराखेका छौं ।

यो एकताको कुरालाई यहि छाडौं र अब तपाईको मन्त्रीको यात्राको कुरा गरौँ, अहिले जनसंख्या तथा वातावरण मन्त्रालयकोे जिम्मेवारी पाउनु भएको छ । दुई तीन वर्ष अगाडिको हामीले हेर्‍याैँ भने तपाईले त्यतिखेर सामान्य प्रशासन मन्त्री बनेर निकै राम्रो काम गर्नुभएको थियो, अहिले पनि सबै नागरिकहरुले सम्झिराखेका छन् । तपाईलाई जिताउने मतदाताले पनि त्यहि कारणले हुनसक्छ तपाईलाई जिताए, अहिले वातावरण मन्त्रीको रुपमा काम गर्ने योजनाहरु चाहिँ के छन् तपाईको ?
अब अहिले एउटा कुरा त के हो भने वातावरण बिग्रेको एउटा स्थित छ । सबैलाई चिन्ता छ । सडकमा हिँड्दा मास्क लाएर हिड्नुपर्ने, राजधानीमा मात्रै होइन बाहिर पनि सुरु भएको छ मास्क लगाउनु पर्ने बाध्यता । अझै भन्ने हो भने कतिपय ठाउँमा त सुत्दा मात्र मास्क निकाल्नु पर्ने स्थिति छ । त्यो प्रदुषणको कारणले हो । कतिपय ठाउँमा चाहिँ हाम्रा संरचनाहरु भत्किँदै छन् । त्यो उत्खननकाे कारणले हो ।

चाउचाउ खाँदाखेरी स्वाद आउँछ । चाउचाउको खोल चाहिँ सडकमा फाल्दा त्यसले कति फोहोर बढाउछ र कतिलाई रोगी बनाउँछ । कतिलाई यो प्लास्टिक उडेर आयो भनेर दिमागमा चिन्ता थप्छ । एकछिन्को स्वादले कति समय निरास बनाउँछ कति समय दिमागलाई तनाव बनाउँछ । अहिलेको परिस्थिति यही हो ।

यहाँले देख्नुहुन्छ गुट्का खाँदा एकछिन् स्वाद आउँछ । त्यो सडकमा फाल्दाखेरि के हुन्छ भन्दा फोहोर हुन्छ । अब हामी भनौँ कि हाम्रो जीवनलाई कसरी प्रकृतिमैत्री बनाउने र हामीले खानेकुराहरु कती प्रदुषित छन् अथवा मिसावट कति छ । त्यो कुरा हेरौँ ।

१५ दिन अगाडि कहाँ राम्रा मानिस पनि हुँदा रहेछन्, कस्तोमा बसोवास पनि गरेका हुँदा रहेछन् भनेर मैले युट्युवमा हेरेको थिएँ । पाकिस्तानको एउटा घरको मैले उदाहरणिय भिडियो हेर्न पाएँ । त्यहाँ कस्तो रहेछ भने त्यो गाउँको सरदर आयु मात्रै झण्डै झण्डै १ सय ७/८ वर्ष रहेछ । त्यहाँका महिला ९० वर्षसम्म सुत्केरी हुँदारहेछन् । अन्यत्रको २५ वर्षकी महिला र त्यो गाउँकी ७५ वर्षीया महिला सँगै राख्दा चाहिँ ७५ वर्षकी जवान देखिदा रहेछन् । सुन्दर र सुन्दरीहरु पनि त्यत्तिकै देखिँदा रहेछन् । मैले के खान्छन् भनेर बुझ्दा त्यो गाउँमा अहिलेसम्म परम्परा रहेछ । बाहिरबाट किनेर केही पनि खादैनन् । सबै आफै उत्पादन गर्छन् र रासायनिक मलको प्रयोग गर्दैनन् । विषादीको प्रयोग गर्दैनन् । र उनीहरु आफू उत्पादन गर्छन् र आफै खान्छन् । एउटा स्वस्थ जीवन स्वस्थ, वातावरणमा चाहिँ हाँसी खुसी जीवन यापन गरिरहेको मैले त्यो भिडियोमा पाएँ । मलाई पनि के लाग्यो भने त्यो गाउँ जस्तै चाहिँ नेपालको काठमाडौं भइदियो भने के हुन्थ्यो, नेपालको पोखरा भइदिएको भए के हुन्थ्यो, नेपालको विराटनगर भइदिए के हुन्थ्यो, बुटवल, भैरहवा भइदिएको भए के हुन्थ्यो ।

हाम्रो अहिले या प्रदुषण का छैन भने ओलाङ्चुङ्गोलामा पनि पुगेको छ । कम जनसंख्या भएको ठाउँमा पनि पुगेको छ बढी जनसंख्या भएको ठाउँमा पनि पुगेको छ । त्यसकारण छनिक रुपमा देख्दा हाम्रो सन्ततीको निम्ति र आफ्नै निम्ति अहिले हामी के गरिराखेका छौँ भन्ने हो भने विद्यालय खोल्नुभन्दा बढी अस्पतालको आवश्कता भइसक्यो । किन भने दीर्घकालिन रोगहरु लाग्दा पनि र असिमित खर्च गराउने रोगहरु लाग्ने स्थिति आएको छ र अहिले हामी जुन फास्टफुडको पछाडि भागिरहेका छौं ।

पुराना गाडिको कारणले गर्दा वातावरण प्रदुषण भएको छ । अथवा विकास निर्माणको काम समयमा नभएर लगानी बढ्ने तर त्यहाँ गरिने कतिपय काम चाहिँ मानव जीवनसँग जोडिएर वातावरणलाई प्रदुषित बनाउने कुरा रोक्ने उपाय छन् ।

यो वातावरणको कुरा तपाईले भनिहाल्नु भो, वातावरण जोगाउन त त्यहि अनुसारको नीति नियम हुनु पर्यो । र त्यो नीति नियममा नागरिकहरु पनि त रहनु पर्‍यो । सबैले त्यसलाई मान्नु पर्यो नि हैन ?
म देख्छु सडकमा फलफूल पसल राखेर ब्यापार गर्ने । त्यहिँ किनेर खाएर त्यहिँ बोक्रा फाल्ने, बेच्नेलाई सरोकार छैन खानेलाई पनि सरोकार छैन । तर त्यो फोहोर कसले सफा गर्छ यो मेरो दायित्व होइन यो सरकारको दायित्व हो । यो महानगरपालिकाको दायित्व हो । फोहोर गर्ने मेरो दायित्व हो सफा गर्ने अरुको दायित्व हो ?

मलाई के लाग्छ भने फोहोर गर्नेहरुलाई समाजबाट अलग्याउनु पर्छ, उसमा यदि सुधार आएन भने उसलाई अलग्याउनु नै पर्छ । अब अहिले दण्डहिनताको अवस्था छ । दण्डहिनताको अवस्थामा मैले के गर्न हुन्छ र के गर्न हुँदैन अब यो स्वतन्त्रताको युगमा सबै कुरा म गर्न स्वतन्त्र छु । नाजायज कुरा पनि म गर्न स्वतन्त्र छु भन्ने कुरा दिमागमा बसेकोले गर्दा यो दिमागमा बसेको भूतलाई पहिले निकाल्दिन जरुरी छ । जसले गर्दाखेरि यो समाज पनि स्वस्थ हुने वातावरण पनि स्वस्थ हुने जसले गर्दा हाम्रो आयु पनि पाकिस्तानको गाउँजस्तो हुन्छ ।

अब त्यस्तो सम्भावना छ बनाउन सकिन्छ ?
बनाउन नसकिने भन्ने कुरा के छ र ? असम्भव भन्ने कुरा केहि छैन । तर के हुन्छ भने थुप्रै अप्ठ्याराहरुलाई अवरोधहरुलाई हटाउनुपर्छ । गर्न नसकिने भन्ने संसारमा केहि पनि छैन ।

यातायातका साधनहरुले गर्ने प्रदुषण नियन्त्रणका लागि के कस्तो योजनाहरु बनाउनुभएको छ ?
अब निजी क्षेत्रका गाडी धेरै बढी भएका छन् । सार्वजनिक गाडीको अवस्था र व्यवस्थापन राम्रो छैन । त्यसकारणले गर्दा प्रदुषण नियन्त्रणको निम्ति पुराना सडकमा चल्नै नसक्ने खालका गाडीहरुलाई चाहिँ हटाउनुपर्छ । मैले कतिपय ठाउँमा दुर्घटना देखेको छु, गाडीको बडी एकतिर भाग्छ, इन्जिनसहितको च्यासिस एकरिर । किन यस्तो हुन्छ भने पैसा कमाउनमा तल्लिन भए त्यो गाडी जसले आफैँलाई पालिरहेको छ त्यसमा लगानी नगर्नाले यस्तो घटना घट्छ । त्यसैले अब यस्तो रहन दिनु हुँदैन भन्ने मलाई लाग्छ । अर्कोतर्फ नेपालका प्राकृतिक श्रोतहरुलाई नेपालको हितका निम्ति प्रयोग गर्नुपर्छ र प्रकृति मानवमैत्री बनाउनुपर्छ ।

काठमाडौंमा हामीले अहिले सडक विस्तार गरिराछौं तपाईले भनि हाल्नुभो यातायातले प्रदुषण बढाउछन् । प्रदुषण कम गर्न त साइकल पनि त विकल्प हुन सक्छ नि । काठमाडौंलाई साइकल मैत्री शहर पनि भनिन्छ ?
साइकल मैत्री थोरै मात्रामा सम्भव छ पूर्णरुपमा सम्भव छैन ।

मैले यो कुरा किन निकालेको भन्दा अहिले हामीले चक्रपथ विस्तार गरिराखेका छौं । तर चक्रपथमा साइकल लेन छैन । लेन भएको कतिपय ठाउँमा त मोटरसाइकल पार्किङ गरेको देखिन्छ यो किन ?
यो किन भन्दाखेरि जे चिज, जे नियम र जे परियोजनको लागि हो त्यसलाई त्यहिँ रुपमा प्रयोग गर्नुपर्छ । फुटपाथहरु हिँड्न डुल्नको निम्ति हो पार्किङको निम्ति होइन । यो अस्थिरताभित्र अराजकता भित्र र कुव्यवस्थापन भित्रको कुरा पनि हो । अब अस्थिरता पनि समाप्त हुँदैछ । विस्तारै अराजकता पनि समाप्त हुन्छ । कू–व्यवस्थापनलाई उचित व्यवस्थापन पनि गर्नुपर्छ भन्ने मलाई लागिरहेकोले गर्दा यो दिशातर्फ पनि मिलेर काम गर्नुपर्छ ।

उज्यालो अनलाइन बाट

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: