Digital Newspaper

श्रीमानले प्याड बनाउँदा भागेकी श्रीमति विश्वचर्चित भएपछि फर्केर आईन

 

एजेन्सी- अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ शुक्रबार रिलिज हुँदैछ। यो दक्षिण भारतका एक व्यक्ति अरुणाञ्चलम् मुरुगनांथमको कहानीमा आधारित फिल्म हो। अक्षय मुरुगनांथमकै भूमिकामा छन्। मुरुगनांथमले सस्ता स्यानिटरी प्याड बनाएर करोडौं महिलाको जीवनमा बदलाव ल्याइदिएका छन्। उनले प्याड मात्रै होइन, प्याड निर्माण गर्ने मेसिनसमेत गरिब महिलाहरुको पहुँचमा पुर्‍याइदिएका छन्।

महिनावारीको बेला तिमी जुन कपडा प्रयोग गर्छौ, त्यसले म मेरो स्कुटर सफा गर्न पनि सक्दिनँ
महिनावारीको समयमा उनकी श्रीमती फोहर कपडा प्रयोग गर्ने गर्थिन्। कपडा नभेट्दा त उनी पत्रिका पनि प्रयोग गर्थिन्। यो देख्दा मुरुगनांथमलाई पीडा हुन्थ्यो। त्यो असुरक्षित र अस्वस्थकर लाग्यो। उनले श्रीमतीलाई भने, ‘महिनावारीको बेला तिमी जुन कपडा प्रयोग गर्छौ, त्यसले म मेरो स्कुटर सफा गर्न पनि सक्दिनँ।’

जब उनले श्रीमतीसँग प्याडको मूल्य सोधे, त्यो साँच्चिकै सर्वसाधारणले धान्न नसक्ने खालको थियो। त्यो हरेक महिना अनिवार्य नै हुन्छ। मुरुगनांथमलाई अचम्म लाग्यो, लागत १० पैसा भए पनि ४ रुपैयाँ अर्थात् ४० गुणा बढी रुपैयाँमा किन बेचिन्छ? यो सन् १९९८ ताकाको कुरा थियो। जुन बेला ४ रुपैयाँले ठूलो महत्व राख्थ्यो।

उनी आफैं पनि गरिब थिए। पिताको सडक दुर्घटनामा मृत्यु भएपछि उनले चरम गरिबीको सामना गर्नुपर्‍यो। उनलाई पढाउन आमा अरुको खेतमा मजदुरी गर्थिन्। उनले आमाको दुःखमा साथ दिन १४ वर्षकै उमेरमा कारखानाका मजदुरलाई खाना पुर्याउने काम थाले। त्यसपछि मेसिन उपकरण अपरेटर, खेत मजदुर, वेल्डर आदिका रुपमा जागिर गरे।

आफ्नी श्रीमतीलाई उक्त समस्याबाट मुक्ति दिलाउन आफैंले प्रोटोटाइप प्याड डिजाइन गरे। उनले त्यो काम आफ्नी श्रीमतीलाई प्रभावित गर्नका लागि गरेका थिए। तर, त्यसका केही समस्या थिए। त्यसैले उनकी श्रीमतीले पुराना कपडा र पत्रिका प्रयोग गर्ने कार्य जारी राखिन्।

आफै गर्भाशय बोकेर हिँड्दा गाउँलेले भने – मुरुगनांथम बहुलायो
प्याड डिजाइन गरिसकेका थिए मुरुगनांथमले। त्यसपछि उनले नयाँ प्रयोगतिर सोचे। आफूले बनाएको र पसलमा उपलब्ध प्याडबिचको अन्तर थाहा पाउन उनले महिना दिन कुनुपर्थ्यो। त्यसपछि उनले परीक्षण गर्न एउटा उपाय निकाले।

आफ्नै गाउँ नजिकको एक मेडिकल कलेजका छात्रासँग सम्पर्क गरे। तीमध्ये धेरै छात्राले चाहिँ अस्वीकार गरे। स्वीकार गर्नेहरु पनि महिनावारीका विषयमा छलफल गर्न भने लजाउँथे।

त्यसपछि उनी आफैंले प्याड लगाएर यसको परीक्षण थाले। उनले फुटबल ब्लाडर निकालेर गर्भाशय बनाए। त्यसलाई रगतले भरिदिए। त्यसपछि उनी दौडिन र साइक्लिङ गर्न थाले। उक्त रगतका कारण उनको कपडा गन्हाउन थाल्यो। उनलाई चिन्नेहरु भन्थे, ‘यो बहुलायो।’

तर श्रीमतीले छाडेर हिँडिन्
१८ महिनासम्म उनले आफ्नै श्रीमतीका लागि प्याडको खोजी गरे। तर, उनकी श्रीमती भने यही कारण घर छाडेर हिँडिन्। केही समयपछि उनकी आमाले पनि छाडिन् र विस्तारै गाउँलेले पनि बहिष्कार गरे। गाउँले ठान्थे, ‘उनी एकदम खराब आत्माले घेरिएका छन्।’

तर मुरुगनांथमले सस्तो प्याडको खोजलाई निरन्तरता दिइरहे। उनलाई त्यो समयसम्म पनि ठूलो रहस्य लाग्थ्यो- के कुराले बन्छ स्यानिटरी प्याड?

जुन कपास उनले प्रयोग गरिरहेका थिए, त्यो त बहुराष्ट्रिय कम्पनीवाला कपासभन्दा निकै फरक थियो। त्यो समय उनी अंग्रेजी जान्दैनथे। एक कलेजका प्रोफेसरसँग औद्योगिक कम्पनीलाई पत्र लेख्न सहयोग मागे।

यसरी अविष्कार भयो मेसिन
प्याड बनाउने सामग्रीबारे पत्ता त लगाए तर बनाउने मेसिन निकै महँगो थियो। त्यसपछि उनले आफैं मेसिन बनाउने निर्णय लिए। उनले कम लागतवाला प्याड बनाउने प्रणालीको अविष्कार गरे। जसका लागि साढे ४ वर्ष लाग्यो।

उनको पहिलो मेसिनमा धेरै काठ प्रयोग भएको थियो। यसलाई मद्रासका आइआइटी वैज्ञानिकलाई देखाए। उनीहरुले मुरुगनांथमलाई राष्ट्रिय नयाँ खोज प्रतिस्पर्धामा सहभागी हुन सल्लाह दिए।

उनको मेसिनले ९४३ नयाँ अविस्कारलाई पछि पार्दै पुरस्कार जित्यो र भारतकी पूर्व राष्ट्रपति प्रतिभा पाटिलले सम्मान गरिन्।

साढे ५ वर्षपछि फर्किइन् श्रीमती
प्रतिस्पर्धामा विजय भएपछि उनी आफ्नो पुरानो थातथलो सुर्खियाँमा आइपुगे। साढे ५ वर्षअघि उनलाई छाडेर हिँडेकी उनकी श्रीमती शान्ति पनि फर्केर आइन्। त्यसपछि जयश्री इन्डस्ट्रिज स्थापना गरेर उनले कम लागतमा स्यानिटरी मेसिनको निर्माण गर्न थाले। गाउँका महिलाहरु मिलेर उक्त मेसिन किन्न थाले।

अहिले उनले उत्पादन गरेका मेसिन विश्वका १ सय ६ राष्ट्रमा निर्यात हुन्छ। विशेषगरी बंगलादेश, नाइजेरिया, फिलिपिन्स लगायतका देशका ग्रामीण महिलामाझ यो प्रख्यात छ। उनले अविष्कार गरेको उक्त मेसिनको मूल्य जम्मा ७ हजार ५ सय भारतीय रुपैयाँ छ। यसले १० जनालाई रोजगारी दिन्छ भने ३ हजार महिलाका लागि प्याड तयार गर्न सक्छ। स्वास्थ्यखवरबाट

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: