Digital Newspaper

कहाँ भेट्दैछन् ट्रम्प र किम ?

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शर्तका साथ भएपनि उत्तर कोरियाली नेतासँग प्रत्यक्ष भेटवार्ता गर्न तयार भएका छन् । अहिले भने ट्रम्प र किमको ऐतिहासिक भेटवार्तालाई सम्भव बनाउन उत्तर कोरियाले शर्त पूरा गर्न केही ठोस कदम उठाउनैपर्ने बताइएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता सेरा स्यान्डर्सले भनेकी छन्, ‘यो बैठक तबसम्म हुँदैन जसबम्म उत्तर कोरियाले वार्ता अघि दिएको वचन पूरा गर्न ठोस कदम उठाउँदैन ।’

स्यान्डर्सले उत्तर कोरियाले कुन वचनलाई तत्कालै पूरा गर्नुपर्ने भन्ने चाहिँ प्रष्ट पारेकी छैनन् । तरपनि यी दुई प्रमुखहरुबीच ऐतिहासिक भेटवार्ता हुने नै भयो भने चाहिँ कुन ठाउँमा हुन्छ भन्ने विषयमा पनि अहिले निकै चर्चा भइरहेको छ ।

२०११ मा सत्ता सम्हालेदेखि नेता किम जोङ उन उत्तर कोरिया भन्दा बाहिर गएका छैनन् । त्यसैले पनि यो वार्ता उत्तर कोरियामै वा सीमाकै वरपरको क्षेत्रमा हुन सक्ने सम्भावना अधिक रहेको छ । यसबाहेक कुनै तटस्थ देशमा वा अमेरिकामै पनि यो भेटवार्ता हुन सक्ने बताइएको छ । यदि वार्ताका लागि सबै मुद्दामा सहमति हुने हो भने दुवै देशले आ–आफ्नो हित र रणनीतिका हिसाबले उचित स्थानको छनौट गर्नेछन् ।

यस्तोमा उत्तर र दक्षिण कोरियाको सीमा सबैभन्दा तटस्थ स्थान बन्न पुग्छ । तरपनि सो स्थानको वातावरण र बाहिरी स्वरुप हेर्दा दुवै नेतालाई यस ऐतिहासिक मौका अनुरुप ठीक नलाग्न पनि सक्छ किनकी यो घटना २०१८ को सबैभन्दा ठूलो र दुर्लभ राजनीतिक घटना हो ।

यस्तोमा ट्रम्पले उत्तर कोरियाको निमन्त्रणा स्वीकार गर्न सक्ने पनि उत्तिकै सम्भावना रहेको छ ।

तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदमा रहेर उत्तर कोरियाको भ्रमण गरि इतिहास रच्न चाहेपनि उनका लागि सो यात्रा सहज भने हुने छैन । सन् २०१७ मा उत्तर कोरियाको जेलबाट रिहा भएपछि अ‍ेमरिकी छात्र ओट्टो वार्मबियरको शारीरिक र मानसिक यातनाका कारण मृत्यु भएको थियो । यस घटनापछि अमेरिकी विदेश मन्त्रालयले अत्यावश्यक भएमा मात्र उत्तर कोरियाको यात्रा गर्न र जानुअघि इन्स्योरेन्स गराएर मात्र जान भन्दै चेतावनी जारी गराएको थियो ।

अमेरिकी पक्षलाई बलियो बनाउनकै लागि उपराष्ट्रपति माइक पेन्सले पनि ओट्टोका पितालाई दक्षिण कोरियाको ओलम्पिक उद्घाटन समारोहमा आफ्ना साथ लिएर गएका थिए जहाँ नेता किमकी बहिनी अन्य उत्तर कोरियाली प्रतिनिधिहरुका साथ कार्यक्रममै उपस्थित थिइन् । उत्तर कोरियाको विरोधमा पेन्सले यस्तो कदम उठाएको बताएका थिए । त्यसैले यस्तो प्रदर्शनपछि पनि ट्रम्प उत्तर कोरिया भ्रमणमा जानु ठूलो राजनीतिक भूलका रुपमा देखिनेछ ।

अर्कोतर्फ दक्षिण कोरियासमक्ष राम्रो छवि प्रकट गरिरहेको उत्तर कोरियाका लागि भने ट्रम्पको भ्रमण अर्को राम्रो अवसर हुने बताइएको छ ।

उत्तर कोरियाले यसअघि ओलम्पिकमा पनि आफ्नो नियन्त्रण कायम राखेको थियो जसअन्र्तगत ओलम्पिक समारोहभरि सबैको नजर किमकी बहिनी र उत्तर कोरियाका चियर लिडर माथि मात्र रहेको बताइन्छ ।

त्यस्तै खेलको पूर्व प्योङयोङमा भएको सैन्य परेडमा ह्वासाङ १५ मिसाइलका प्रदर्शन पनि क्षेत्रीय राजनीतिको मुद्दाका रुपमा रहेको थियो । त्यसैले ट्रम्पले उत्तर कोरिया जाने फैसला गरेमा यसपटक पनि वार्तालाई प्योङयोङले नै नियन्त्रण गर्न पाउनेछ । यसले उत्तर कोरियालाई मानवअधिकार उल्लंघन र अन्य उल्लेखनीय कमीकमजोरीलाई ढाकछोप गर्न मद्दत गर्ने बताइएको छ ।

त्यसैले सबै परिस्थितिलाई नियाल्दा तटस्थ क्षेत्र सबैभन्दा उपयुक्त मनिएपनि उत्तर कोरियाले यस प्रस्तावलाई नकार्ने सम्भावना पनि उत्तिकै रहन जान्छ ।

यूरोपमै पढाइ पूरा गरेको भएपनि किमले एकपटक विदेश यात्रा गरेका छैनन् । सन् २०१५ मा चिनिया सरकारको निमन्त्रणलाई समेत किमले अस्वीकार गरेका थिए ।

भनिन्छ कि सत्तामा किमको पकड अहिले यति शक्तिशाली भइसकेका छन् कि उनी उत्तर कोरिया सहजै छाड्न सक्छन् जसपछि उनका अगाडि विभिन्न अन्तराष्ट्रिय विकल्प खुल्न सक्ने बताइएको छ ।

तरपनि यस वार्ताका लागि किम अमेरिका भ्रमणमा आउन सक्ने सम्भावना भने एकदमै कम रहेको छ किनकी सो परिस्थितिमा उत्तर कोरियाको नियन्त्रण धेरै कम हुन जान्छ । उत्तर कोरिया त्यस्तो अवस्थाबाट सधैँ बच्न चाहान्छ जहाँ नेता किमले प्रदर्शनकारीको सामना गर्नुपर्ने हुन्छ ।

कहिल्यै अन्र्तवार्ता दिन नचाहाने किमलाई वासिङटनका पत्रकारसँगको सम्पर्क अवश्य पनि मन पर्ने छैन । हुन त चिनियाँ राष्ट्रपति जिङपिङ यसअघि फ्लोरिडामा रहेको ट्रम्पको होलिडे होम ‘मार आ लागो’ पुगेका थिए तरपनि किमबाट भने त्यस प्रकारको अपेक्षा गर्नु गलत हुने बताइएको छ । वास्वतमा दुवै नेताहरुका लागि शान्ति भङ्ग नभएसम्म एउटा देशले जोखिम लिन तयार रहे धेरै विकल्पहरु रहेका छन् ।

आफ्नो भनाइ राख्नुहोस्

Your email address will not be published.

%d bloggers like this: