#


१४ बर्षमा विवाह गरेकी किशोरीको ३० बर्षमा ६ सन्तान, न बस्ने ठाँउ न खानाको टुंगो

    २०७६ बैशाख २, सोमबार १२:२५ मा प्रकासित

विष्णुप्रसाद पोखरेल
दमक/केहि समयअघि सुनसरी जिल्लाको बराहनगरपालिकाको चक्रघट्टीमा लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट सहितका स्थानीय क्लवहरुको आयोजनामा बृहत विशेषज्ञ स्वास्थ्य शिविर हुने भएपछि झापाको दमकबाट म पनि त्यहाँ गएका थिए । विहान १० बजेबाट शिविर हुने बताइएपनि १२ बजे पनि शुरु भएको थिएन ।

मानिसहरुको भिड बाक्लो भइसकेको थियो । पुर्जा लिनेकालागि होडबाजि नै चलेको थियो । त्यो भिडमा एक महिलातिर आँखा गयो । मैले फाटेको लुगा, निस्रिक्क अनुहार अनि दुइवटा साना बच्चा दुइतिर च्यापेर एक महिला यता र उता गरिरहेकी थिइन् । एउटा बच्चा रुन्थ्यो र त्यसलाइ फकाइ नसक्दै अर्को बच्चा रुन थाल्यो ।

म ति महिलातिर गए र कुराकानी गरे । नाम सावित्रा कुनुवार । उमेर ३० रहेछ । माइतीघर भोजपुर । श्रीमानको घर छैन । जहाँ काम गर्यो त्यहि बस्यो । १४ बर्षको उमेरमा विवाह गरेकी रहेछिन् । ६ वटा छोराछोरीलाइ जन्म दिइसकेकी रहेछिन् ।

अहिले ठुली छोरी १२ बर्ष भइसकेकी रहेछिन् । माइली छोरीको उमेर १०, जेठो छोरोको उमेर ८ बर्ष र कान्छी छोरीको ५ बर्ष रहेछ । काखमा जुम्लाह छोरा राम र लक्ष्मण २० महिनाको मात्रै ।

केहि दिनदेखि छोरोलाइ ज्वरो आएर निको नभएपछि जाँच र औषधि निशुल्क हुन्छ भनेर उनी यहाँ आएकी रहेछिन् । कुराकानी गरिरहदा उनलाइ पुर्जाको चिन्ता थियो र पुर्जामा लाइन बस्न जान हतार गर्दै थिइन् । मैले पुर्जा म ब्यवस्था गरिदिने र एक नम्बरमा नै पालो राखिदिने बताएपछि उनले खुसिसाथ कुरा गरिन् ।

श्रीमान्को विषयमा सोध्दा उनको आँखाबाट आँशु झर्यो । मानसिक सन्तुलनमा समस्या भएपछि हिडेको र पत्तो नभएको पनि केहि महिना बितिसकेको रहेछ । यसभन्दा अगाडि पनि यसरी नै हराएपछि बल्लतल्ल भेटेर औषधि ख्वाउदा निको भएको उनले सुनाइन् ।

प्रेम विवाह रहेछ दुइजनाबीच, माइतीपक्षको बिषयमा खासै केहि बताउन चाहिनन् । छोरोछोरीहरु नजिकैको सरकारी स्कूलमा सबै आधारभूत तहमा पढ्दै गरेको जनाइन् । छोराछोरीहरुलाइ अरुले लगाएर दिएका कपडाहरु दिने गरेकी रहेछिन् । काखमा दुइ बच्चा च्यापेर अर्काको मजदुरी गर्नु अहिले उनको दिनचार्य रहेछ ।

शतिशाल पानमारामा केदार नेपालको घरमा आश्रय लिएर बसेको उनले सुनाइन् । कुराकानीको क्रममा नै नोवेल अस्पतालबाट बिशेषहरु आएपछि कार्यक्रम संयोजक बुद्धिशेखर भट्टराईलाइ भनेर शुरुमा नै साना बालकहरुलाइ देखाइयो । ज्वरो आएर निमोनिया समेत भइसकेको रहेछ । तर औषधिले ठिक हुने भनेपछि उनी खुसि भइन् ।

उनको जीबनको भोगाइ सुनेर निक्कै नरमाइलो लाग्यो र उनलाइ सहयोग गर्ने विषयमा लायन्सकर्मीहरुसंग छलफल पनि भयो । उनिहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । म आफैलाइ प्रश्न गरिरहेको छु, हाम्रो समाज अझै कति पछाडि छ ? महिलाहरु कति धेरै समस्याछन् ?

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु