#


दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच तिब्र व्यापार युद्ध शुरु

    २०७६ बैशाख ३१, मंगलवार २१:०२ मा प्रकासित

वाशिंगटन (एजेन्सी) । पहिलो र दोस्रो अर्थतन्त्र भएका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच तिब्र व्यापार युद्ध शुरु भएको छ । एकअर्काले एकअर्काका सामानमाथि उच्च भन्सार कर लगाउँदै व्यापार युद्ध छेडेका हुन् । यो व्यापार युद्ध अझै चर्कने संकेतहरु देखिएका छन् । अमेरिका र चीनबीच व्यापार युद्ध चर्केसँगै त्यसका प्रभावहरु पनि देखिन थालेका छन् । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो भने चीन दोस्रो स्थानमा छ ।

 

६० अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चिनियाँ घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ । चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ । अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको छ । गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो । त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ । त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।

 

कर नबढाउन अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई चीनले बेवास्ता गरेको छ । उसले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ । चीन र अमेरिकाबीच चर्किएको व्यापारिक तनावबारे चिन्ता बढ्दै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ सो विषयमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग अर्को महिना छलफल हुन सक्ने बताएका छन् । दुई नेताबीच अर्को महिना जापानमा हुने जी–२० समूहको बैठकमा भेट हुने कार्यक्रम छ ।

 

त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘चीनले अमेरिकाबाट निकै धेरै फाइदा लिँदै आएको छ । ओबामाको शासनकालभन्दा पनि पहिलेदेखि नै त्यस्तो हुँदै आएको थियो । अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेको छ । अब हामी त्यस्तो हुन दिने छैनौँ ।’ बेइजिङले अमेरिकी कदमको प्रतिक्रियास्वरूप त्यस्तै निर्णय गर्न आफू बाध्य भएको बताएको छ । शुक्रवार अमेरिकाले २०० अर्ब डलरको चिनियाँ सामानमा दुई गुणाभन्दा बढीले कर लगाउने घोषणा गरेको थियो । गत साता दुई देशबीचको व्यापार वार्ता विफल भएपछि पछिल्लो तनाव बढेको हो ।

 

अमेरिका र चीनबीच व्यापार तनाव गएको वर्षदेखि नै जारी छ । खास गरी अमेरिकाले चिनियाँ दुरसञ्चार कम्पनी हुवावेका उत्पादनमाथि जासुसीको आरोपमा प्रतिबन्ध लगाएपछि तनाव शुरु भएको हो । अमेरिकाले हुवावेका उत्पादनलाई आफ्नो मुलुकमात्र प्रतिबन्ध लगाएन आफ्ना सहयोगी राष्ट्रहरुलाई पनि सतर्क रहन भन्यो ।

 

जसको कारण संसारकै नेतृत्वकर्ता दुर सञ्चार कम्पनी हुवावेको बजार खस्किएको छ । त्यसको बदलामा चीनले अमेरिकमा उत्पदान हुने भटमासमा प्रतिबन्ध लगाएपछि तनाव थप चर्किएको थियो । तर, यहीबीचमा दुई देशबीच व्यापार वार्ता पनि शुरु भयो र तीन महिनाका लागि व्यापार युद्धविराम गरियो । ११ चरणसम्म भएको व्यापार वार्तामा कुनै प्रगति नभएपछि फेरि व्यापार युद्ध चर्केको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु