#


झापामा प्रहरीले आफ्नै पेस्तोल सुरक्षा गर्न नसकेपछि…

    २०७६ जेष्ठ १, बुधबार १३:३१ मा प्रकासित

पार्थ मण्डल

भद्रपुर । झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ। कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो।

प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो। एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ। तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो। कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ।

छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान थालेको बताइएको छ। यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने, ‘डिएसपीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान हुँदैछ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु