#


अपाङ्गता भएकाहरुको खोजी गर्दै दमक नगरपालिका

    २०७६ जेष्ठ १, बुधबार १४:५७ मा प्रकासित

विष्णुप्रसाद पोखरेल
दमक । दमक नगरपालिकाले पहिलो पटक अपाङ्ग सहयोग समिति दमकसंग समन्वय गरेर अपाड्डता भएकाहरुको विवरण संकलन गर्ने काम शुरु गरेको छ । नगरभित्रका अपाङ्गता भएका ब्याक्तिहरुको अहिलेसम्म याकिन तथ्याङ्क नरहेकाले तथ्याङ्क लिएर परिचयपत्र उपलब्ध गराउने उदेश्य रहेको नगरपालिकाले जनाएको छ ।

 

अपाङ्गता भएका ब्याक्तिहरुको विवरण सहितको प्रोफाइल बनाएर राख्नका लागि प्रत्येक वाडमा वाड कार्यालयमार्फत समन्वय गरेर विवरण संकलन गर्ने काम शुरु भएको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।  उहाँका अनुसार सबै विवरण लिएपछि प्रत्येक वाडमा घुम्ति शिविर गरेर परिचयपत्र प्रदान गरिने उदेश्य रहेको छ ।

 

यस कार्यका लागि ४ लाख ७४ हजार बजेट बिनियोजन भएको र सबै वाडमा अपाङ्ग भएकाहरुको विवरण लिनका लागि काम शुरु भएको नगरपालिका महिला तथा बालबालिका शाखाकी अधिकृत सरिता भण्डारीले बताउनु भयो । यसै आर्थिक बर्षभित्रमा नगरपालिका कार्यापालिका बैठकद्धारा पास भएको अपांगता परिचयपत्र बितरण कार्यविधि अनुसार परिचयपत्र बितरण गर्ने उदेश्य रहेको छ ।

 

दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराइका अनुसार दमकमा रहेका ७० प्रतिशतभन्दा बढि अपाड्डता भएकाहरुको साथमा परिचयपत्र नरहेको आफुहरुको आँकलन रहेको छ । झन्झटिलो प्रक्रिया र शारिरिक बाध्यताका कारण सम्बन्धित निकायसम्म जान नसकेको कारण धेरैले परिचयपत्र नपाएको बताइने गर्छ ।

 

स्थानीय ठेगानामा बसोबास नभएका र विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गम्भीर्यताको कारण आफ्नो स्थाई वसोवास भएको जिल्लामा गई अपाङ्गता परिचय पत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित स्थानीय तहबाट परिचय पत्र नलिएको सुनिश्चत भएमा उसलाइ समेत यसमा समावेश गर्न सकिने कार्यविधि नगरपालिकाले पास गरेको छ ।

 

अपाङ्गता भएकाहरुको परिचयपत्र बितरण, रोजगारमूलक कार्यक्रम सञ्चालन लगायतको समन्वयका लागि नगरपालिकाले उपप्रमुख गीता अधिकारीको संयोजकत्वमा समन्वय समिति बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनु भयो । अपाड्डताको प्रकृती हेरेर त्यसै अनुसार बर्गिकरण गरी समितिले परिचयपत्रका लागि सिफारीस गर्ने पनि बताईएको छ ।

 

नगरपालिकाले नगर प्रोफाइल बनाउन अपाङ्गताहरुको अवस्थाको बिषयमा छुटेको भन्दै अपाड्डताको क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरुले आवाज समेत उठाउदै आएका थिए । अपाड्डता भएकाहरुको हकहितमा आवाज उठाउदै आउनु भएका मदन बोहोराका अनुसार नगरप्रोपाइलमा अपाड्डता भएकाहरुको विवरण उल्लेख भएको भए त्यहि आधारमा परिचयपत्र वितरण गर्न सकिने आधार बन्नेथियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु