#


खोज्दै–खोज्दै तामाखानी, जहाँ पुगे राजारानी

  रासस   २०७६ जेष्ठ २३, बिहीबार १२:०४ मा प्रकासित

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा नेपालकै उत्कृष्ट तामाखानी छ। तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। तामाखानी सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारले करोडौँको वार्षिक आम्दानी गुमाएको छ। जनता भने बेरोजगारीका कारण विदेशिन बाध्य छन्।

यो तामाखानी २०१८ सालदेखि २०४२ सम्म नियमित सञ्चालनमा रहेको थियो। त्यसपछि सरकारको निर्देशनका कारण बन्द हुन पुग्यो। बन्द रहेको तामाखानी फेरि सञ्चालनमा आउन नसक्दा स्थानीय सरकार र जनताका लागि तामाखानी ‘भिल्लाका देशमा मणि’ जस्तै भएको छ।

यो तामाखानीमा २०४२ सालसम्म दैनिक २०० भन्दा बढी कामदारले काम गर्थे।

तत्कालीन प्रधानपञ्च एवम् हाल मालिका गाउँपालिका–४ का वडाध्यक्ष दिलीपकुमार शेरचनका अनुसार, प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निस्कने गरेको थियो।

त्यतिबेला यहाँको खानीबाट निकालिएको तामा प्रतिधार्नी रु १ सय ५० रुपैयाँमा मा बिक्री हुने गरेको जानकारी पनि शेरचनले दिए।

तत्कालीन अवस्थामा तामाखानीका ठेकेदारसमेत रहेका शेरचनका अनुसार सो तामाखानीमा २०२६ सालमा भारतको विडला कम्पनीबाट प्राविधिकहरु झिकाई खानीको अवस्था बुझ्दा प्राविधिकहरुले त्यहाँ सुन पनि हुनसक्ने बताएका थिए।

त्यसको ४ वर्षपछि तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य ७ मंसीर २०३० मा तामाखानी अवलोकनका लागि ओखरबोट पुगेका थिए। तामाखानीको अवलोकनपछि राजारानीले खानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आदेश दिएका थिए।

त्यसपछि २०४२ सालसम्म नियमित सञ्चालन भएको सो तामाखानी विसं २०४२ मा सरकारले कर बृद्धि गरेपछि कर तिर्न नसक्ने अवस्थामा पुग्यो। र, तामाखानीबाट तामा निकाल्ने प्रविधि तथा उपकरणको अभावपनि थपिँदा खानी बन्द गर्नुपर्ने स्थिति सिर्जना भयो।

त्यतिबेला अहिलेका वडाध्यक्ष शेरचनले नै लाइसेन्स लिई खानी सञ्चालन गर्ने ठेक्का लिएको ओखरबाटका ८३ वर्षीय दीलप्रसाद घर्ती मगरले जानकारी दिए।

घर्ती मगरका अनुसार, तामाखानीमा दुईवटा मुहान रहेका छन्। ती मुहानहरुको लम्बाइ २ सय ५० देखि ३ सय मिटरसम्म रहेको छ। त्यहाँ अझैसम्म पनि तामाका धाउहरु देख्न सकिने घर्ती मगर बताउँछन्।

स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष शेरचनले गाउँपालिकाको सिफारिशसहित पाँच पटकसम्म काठमाडौँस्थित खानी विभागमा गई खानी सञ्चालनका लागि अनुमति माग्दा सरकारले अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको दुखेसो गरे। ‘खानी सञ्चालनका लागि मैले धेरै प्रयास गरेँ’ उनले भने, ‘तर सरकारले खानी सञ्चालनको अनुमति दिएन।’

तामाखानीलाई राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी एजेण्डा बनाएका थिए। तर, गाउँमा चुनावी भाषण गर्न गएका जिल्लादेखि स्थानीय नेताहरुले एउटै स्वरमा तामाखानीका बारेमा गरेका प्रतिबद्धता पूरा नहँुदा स्थानीयवासी निराश छन्।

‘तामाखानीका बारेमा एक वर्षयता धेरै बोले’ स्थानीयवासी जगदीश रसाइली भन्छन्, ‘तर काम भने केहीपनि भएन।’

खानी उत्खननका क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन्।

मालिका गाउँपालिकका अध्यक्ष श्रीप्रसाद रोका तामाखानी सञ्चालनका लागि प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको गुनासो गर्छन्। उनी भन्छन्, ‘खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानी सम्बन्धित कानून बनाउनुपर्छ।’ रासस

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु