#


साँसदहरुका अगाडि मन्त्रलायका सचिब यसरी कडकिएपछि…

    २०७६ जेष्ठ २५, शनिबार ०८:०१ मा प्रकासित

काठमाडौं । लोकसेवा आयोगले हालै खोलेको नयाँ कर्मचारी भर्नाको विज्ञापनलाई लिएर संसदीय समितिमा सांसदहरुले ‘बबण्डर’ मच्चाएका छन् । आयोगले खोलेको विज्ञापनलाई लिएर शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी र सांसदहरुबीच भनाभन समेत भयो ।

समितिका सदस्यहरुले लोकसेवाले विज्ञापन रोकेर नयाँ प्रक्रिया मार्फत अगाडी बढ्नुपर्ने अडान लिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला आक्रमकरुपमा प्रस्तुत भए। आयोगले हालै खोलेको विज्ञापन समावेशी नभएको भन्दै सरकार र आयोग आलोचना भइरहेका बेला सचिव कोइराला आक्रामकरुपमा प्रस्तुत भएका हुन् ।

बैठकमा मन्त्री लालबाबु पण्डित अनुपस्थित थिए। मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै सचिव यादव कोइराला उपस्थित भएका थिए । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मासहितले लोकसेवाको विज्ञापन अघि नबढाउन भनेका थिए । सांसद शर्मासहितले समावेशी नभएको लोकसेवाको विज्ञापन रोकेर नयाँ प्रक्रियामा जाने भनेपछि सचिव कोइरालाले यदि त्यसो भएमा संविधान नै फेल हुने खतरा समेत औँल्याए।

सचिव कोइरालाले संघीयता कार्यान्वयन गर्ने स्थानीय कयौँ स्थानीय तह अहिले पनि कर्मचारी अभावमा खाली रहेको बताउँदै तीन महिना भित्र पदपूर्ति नगरिए डरलाग्दो अवस्था आउने चेतावनी दिए । ‘लोकसेवा माग्नु हाम्रो रहर होइन। देशभरका कयौँ स्थानीय तह खाली छन्, तत्काल कर्मचारी पठाइएन भने जनताले सिंहदरबार घेर्ने अवस्था छ’, उनले आक्रमक हुँदै भने, ‘नेपाल सरकार निरीह भएको होइन। तर हामीलाई पीडा छ। हाम्रो मन्त्रलायमा आएर हेर्नुस्, हामीले ढुक्कले बस्न पाएका छैनौँ।’

सचिव कोइरालाले लोकसेवाबाट आफ्ना भाइभतिजा राख्न नखोजेको बताएपछि सांसदहरु झन् आक्रोशित भए। त्यसपछि समिति सभापति श्रेष्ठले रुलिङ गरिन्। ‘हामीले हाम्रा भाइ भतिजा सबै राख्नुपर्यो भनेका छैनौँ, लोकसेवाले सक्षम कर्मचारी प्रतिस्पर्धाबाट ल्याउने हो’ उनले सांसद्हरुलाई लक्षित गर्दै भने, ‘हरेक कुरा हाम्रै मात्र ठीक हुन्छन् भन्नु हुँदैन। भोलीका दिनमा समस्या पनि नहोस्, योग्य व्यक्ति आउन् भन्ने चहाना पनि हो। हामी संविधानको भावना विपरित हामी गएका छैनौँ।’

सचिव कोइरालाले जनतालाई सेवा दिन लोकसेवा खोलिएको बताउँदै अहिले नखुले नयाँ प्रक्रिया थाल्न २ वर्ष र कर्मचारी भर्ती गरेर काम थाल्न थप २ वर्ष लाग्ने बताए। ‘स्थानीय तहबाट सेवा दिन हामीले यो काम गर्न खोजेका हौँ। यदि अहिले लोकसेवा खुलेन भने २ वर्षपछि धकेलिन्छ।’,उनले भने, ‘जति चाँडो गरे पनि जनप्रतिनिधिको कार्यकाल नै बित्छ, नयाँ कर्मचारी जाँदा।’

सचिव कोइरलाले संविधानको भावना अनुसार नै विज्ञापन गरिएको बताए । लोकसेवा रोक्न नसकिने तर समावेशी र परिस्कृत बनाउन सकिने कोइरालाले बताए। ‘लोकसेवामा रहेका त्रुटी सच्याएर अघि बढाऊँ’, उनले भने, ‘ससदीय समिति र सरकार एकअर्काका पूरक हुन्। मैले विवाद बढाउन चाहेको होइन, हामी मिलेरै अघि बढ्नुपर्छ। तपाईंहरुले सरकारलाई खबरदारी गर्नुपर्छ, तपाईंहरुका कुरा हामीले सुन्‍नुपर्छ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु