#


के हो डेङ्गु ? डेङ्गुको लक्षण र यसबाट बच्ने उपाय

  पत्रपत्रिका   २०७६ जेष्ठ ३१, शुक्रबार २१:५८ मा प्रकासित

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ ।

यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्छ । खासगरी वर्षाको पानी; जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्र वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ । डेङ्गु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइसल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्ला पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । औँलो उत्पादन गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेङ्गु रोग क्लासिक डेङ्गु हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेङगी गल्तीले डेङ्गु भनी लेखिने ज्वरो लामखुट्टेको टोकाइ सर्ने र शितोष्ण र समशितोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेङ्गी भाइरसका कारण लाग्ने गर्छ । सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीन दिनदेखि चौध दिन पछि यसका लक्षणहरू देखिन्छन् । यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्छ ।

केही बिरामीमा यो रोग डेङ्गी हेमोरेजिक फिबर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेङ्गुको अर्को विकसित रूप हो । डेङ्गु सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ । डेङ्गु धेरै प्रजातिको लामखुट्टेका माध्यमबाट मानिसमा सर्न सक्छ । यो रोगका भाइरस पाँच प्रकारका छन् । यीमध्ये कुनै एकको सङ्क्रमण भएमा हाम्रो शरीरले जीवनभरीका लागि त्यस प्रजातिको भाइरसविरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्छ । तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिको भाइरसविरुद्ध छोटो अवधिका लागि मात्र काम गर्छ ।

एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर खतरालाई बढावा दिन्छ । डेङ्गुको पहिचाको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन् । यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गुको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी पत्ता लगाउने गरिन्छ । केही देशहरूमा डेङ्गुको सङ्क्रमणबाट बचाउनका लागि एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङ्गुबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउने गर्न सकिन्छ । भर्खरै देखा परेको मन्द वा मध्यम खालेको डेङ्गु छ भने मुखबाट वा नसाबाट तरल पदार्थ दिएर उपचार गरिन्छ । गम्भीर खालको डेङ्गुको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन्छ । यो रोगको कारणले प्रत्येक वर्ष विश्वमा पाँच लाख मानिस अस्पताल भर्ना हुने गरेका छन् । डेङ्गु लागेको बेलामा इबुप्रोफिन जस्ता ननस्टेरोइडल एन्टी इन्फ्लामेन्टरी औषधि प्रयोग गर्नु हुँदैन ।

डेङ्गु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी रूपमा समस्या बनेको हो । हाल यो रोग विश्वका ११० देशमा व्याप्त छ । प्रत्येक वर्ष यो रोगका कारण करिब ५ करोडदेखि ५ करोड २८ लाख मानिस बिरामी पर्ने गरेका छन् । जसमध्ये करिब १० देखि २० हजार मानिसको मृत्यु हुने गरेको छ । डेङ्गुको महामारीको बारेमा सन् १७७५ मा लिखित तथ्य भेटिएको छ । यो रोग भाइरसका कारण लाग्ने र लामखुट्टका कारणले सर्ने गरेको तथ्य बीसौँ शताब्दीमै पत्ता लागेको थियो । लामखुट्टेलाई निर्मूल पार्न असम्भव जस्तै भएकाले सीधै भाइरसलाई नियन्त्रण गर्न औषधीका बारेमा पनि अध्ययन भइ रहेको छ ।

लक्षण तथा चिन्हहरूः

सामान्यतः डेङ्गु भाइरसको सङ्क्रमण भएका करिब ८० प्रतिशत मानिसमा रोगको कुनै लक्षण देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षण मात्र देखिन्छ । सङ्क्रमित मध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिस यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्छन् । यो रोग छिप्पिन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

प्रायजसो बालबालिकामा डेङ्गुको सङ्क्रमण हुँदा सामान्य रुघा तथा सङ्क्रामक पखाला भएको जस्तै लक्षण देखिने गर्छन् । त्यस्तै बालबालिकामा विभिन्न जटिलता देखापर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखापर्छ । डेङ्गुको पहिचानका लागि मुख्य लक्षण अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडि दुख्ने, मांसपेसी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ, लक्षण सुरु हुने अवस्था फेब्राइल, गम्भीर अवस्था क्रिटिकल तथा निको हुने अवस्था रिकभरी । लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियसभन्दा पनि उच्च ज्वरो आउने शरीरमा पीडा महसुस हुने तथा टाउको दुख्ने जस्तो लक्षण देखिन्छन् ।

यो अवस्था प्रायजसो दुई दिनदेखि सात दिनसम्म रहने गर्छ । वाकवाकी लाग्ने तथा वान्ता हुने पनि हुन सक्छ । डेङ्गुको सङ्क्रमण भएका ५०–८० प्रतिशत बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखापर्न सक्छ । पछि बढ्दै गएर दादुरा लागेको जस्तो स–साना फोकाहरू देखा पर्छन् । रातोको बीचमा सेतो हुने फोका पनि देखिन सक्छ । यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा आइसल्यान्ड अफ ह्वाइट इन अ सी आफ रेड (रातो समुन्द्रमा गोराहरूको टापु) भन्ने गरिन्छ । यो अवस्थामा शरीरमा हुने कोसिकाहरू फुटेर छालामा ससाना थोप्ला देखापर्ने र मुख र नाकका म्युकस मेम्बे्रनबाट सामान्य रक्तश्राव हुने लक्षण पनि देखापर्छन् ।

डेङ्गुको ज्वरो वा बच्न लामखुट्टेको टोकाइबाट बच्नु तथा लामखुट्टेको वृद्धि रोक्नुपर्छ । पानी जम्न सक्ने भाडाहरू जस्तै गमला फुलदान खाली बट्टा अलकत्र वा मट्टीतेल खाली ड्रमहरू गाडीका काम नलाग्ने टायहरूमा पानी जम्न नदिने । पानीका ट्याङ्की लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने । कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने । फुलदानीमा भएको पानी हप्तामा दुई पटक फेर्ने । लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउन पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरकै झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । डेङ्गु ज्वरोविरुद्धको खोप र खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेङ्गु ज्वरोको शङ्का लागेमा हुन सक्ने जटिलता बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

(लेखक वरिष्ठ पशु चिकित्सक हुन् ।) रातो पाटि बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु